गर्भवती भएको अवस्थामा गरिने मद्यपानले पार्ने असरहरुलाई मध्यनजर गर्दै गर्भवती महिलाहरुलाई उनीहरुले कति रक्सी पिउँछन् भन्ने प्रश्न गरिनुपर्ने बताइएको छ। बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस)को लागि जारी ‘प्रायोरिटी एडभाइस’मा गर्भवती महिलाहरुलाई उनीहरुको मद्यपान गर्ने बानीको बारेमा प्रश्न गर्नु पर्ने उल्लेख छ।
नेशनल इन्स्टिच्युट फर हेल्थ एन्ड केयर एक्सिलेन्स (एनआइसीई)को सो सल्लाह मद्यपान समस्याले बच्चाहरुमा निम्त्याउने जोखिम पत्ता लगाउन 'डिजाइन' गरिएको हो।
फोइटल अल्कोहल स्पेक्ट्रम डिसअर्डर (एफएएसडी) भएका शिशुमा दीर्घकालिन समस्याहरू देखिन सक्छ। गर्भावस्थामा जोखिम हटाउन अपनाउन सकिने सबैभन्दा सुरक्षित उपाय भनेको रक्सीको सेवन पूर्ण रुपमा त्याग्नु हो।
‘प्लेसेन्टा’मार्फत आमाबाट पाउने रक्सीलाई बच्चाले राम्ररी पचाउन सक्दैनन्। उनीहरूको शरीरमा रक्सी लामो समयसम्म रहन सक्छ, जसले गर्भमा सामान्य रूपमा बच्चाको विकास हुन सक्दैन।
एफएएसडीको कुनै विशेष उपचार छैन। र, मस्तिष्क तथा मुटु र मिर्गौला जस्ता अंगहरूमा क्षति पुगे त्यसको उपचार गर्न सकिँदैन।
गर्भवती महिलाले जति धेरै मद्यपान गर्छिन, बच्चामा एफएएसडी हुने सम्भावना त्यति नै उच्च हुन्छ। र, कति मद्यपान गर्दा ‘सुरक्षित’ हुन्छ भन्ने कुनै आधार पनि छैन।
‘तर, गर्भवती हुनुअघि वा गर्भावस्थाको समयमा थोरै मात्रामा मात्रै रक्सी पिएको खण्डमा भने बच्चालाई हानि पुर्याउने जोखिम भने कम हुने सम्भावना छ,’ स्वास्थ्य विभागले भनेको छ। र, आधिकारिक तथ्याङ्कले देखाउँछ कि हरेक १० मध्ये एक गर्भवती महिलाले गर्भावस्थामा केही मात्रामा रक्सी पिएका हुन्छन्।
महिलाहरूलाई गर्भावस्थाको बेलामा कम रक्सी पिउन वा रक्सी पिउनबाट पूर्ण रुपमा वञ्चित गर्नाले एफएएसडीबाट प्रभावित बालबालिका र युवाहरूको संख्या घट्ने ब्रिटिश प्रेग्नेन्सी एडभाइजरी सर्भिसकी क्लेयर मर्फी बताउँछिन्।