
काठमाडौं : रसिया र युक्रेनका अधिकारीहरुबिच बुधवार पुन: वार्ता हुँदैछ। युक्रेनी अधिकारीहरु वार्ता प्रति आशावादी देखिँदै उनीहरुले 'सम्झौताको सम्भावना' रहेको बताएको अलजजिराले जनाएको छ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले समेत शान्ति वार्ताका क्रममा रसियाले राखेका मागहरु 'थप यथार्थपरक' हुँदै गएको बताएका छन्। उनले युक्रेनले नाटोसँग नजोडिने कुरालाई युक्रेनले बुझ्नुपर्ने जनाएको छ।
राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशले अमेरिकाको नेतृत्वमा रहेको नाटो सैन्य गठबन्धनको सदस्य नहुने कुरा स्वीकार गर्नुपर्ने बताएका हुन्। जुन, रसियाले युक्रेन माथि हमला गर्नको प्रमुख कारण र चिन्ताको विषय हो।
'युक्रेन नाटोको सदस्य छैन... हामीले वर्षौंदेखि सुनेका छौं कि ढोका खुला छ, तर हामीले यो पनि सुनेका छौं कि हामी सामेल हुन सक्दैनौं। यो सत्य हो र यसलाई मान्यता दिनै पर्छ,' जेलेन्स्कीले मंगलबार बेलायतको नेतृत्वमा रहेको जोइन्ट एक्पेडिसनरी फोर्सलाई भने।
उनले युक्रेनी जनताहरुले आफूलाई कसले सहयोग गरिरहेको बुझेको भन्दै खुसी व्यक्त गरे।
यसैबिच रसियाली विदेशमन्त्री सेर्जेइ लाभ्रोभले शान्ति वार्तामा सम्झौताको आशा व्यक्त गरेको रोयटर्सले जनाएको छ। यद्यपि उनले वार्ता सजिलो नभएकोसमेत बताएका छन्।
'म हाम्रा वार्ताकारहरूले दिएको मूल्याङ्कनबाट निर्देशित छु। स्पष्ट कारणले वार्ता सहज नभएको उनीहरुको भनाइ छ। तर जे होस्, त्यहाँ सम्झौतामा पुग्ने आशा छ,' विदेशमन्त्री लाभरोभले भनेको आरबीसी न्युज आउटलेटसँगको अन्तर्वातामा भनेको समाचारमा उल्लेख छ।