
काठमाडौं : मिथिलाञ्चलको१५ दिने लामो मिथिला मध्यमा परिक्रमा यात्रा भारतको विहार राज्यस्थित बिसौल पुगेको छ। धनुषाको मिथिला बिहारी नगरपालिका–८ स्थित ऐतिहासिक महत्वको मिथिला बिहारी मन्दिरबाट झाँकी र कीर्तनसहित सुरु भएको मिथिला मध्यमा परिक्रमा यात्रा बुधबार १४ औँ दिन भारतको बिसौल पुगेको हो। यात्रा आज साँझ जनकपुरधाम आइपुग्ने जनाइएको छ।
प्रत्येक वर्ष फाल्गुन शुक्लपक्ष प्रतिपदाका दिनदेखि १५ दिन मिथिला मध्यमा परिक्रममा सुरु हुने चलन छ। परिक्रमाका क्रममा १५ दिनसम्म डोलालाई जनकपुरधामबाट कल्याणेश्वर हुँदै फूलहर, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, क्षिरेश्वरनाथ (पर्वत्ता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), अउढी, करुणा, बिसौल र फेरि कल्याणेश्वरसम्म पुर्याउने परम्परा रहेको मिथिला बिहारी मन्दिरका महन्थ रामनरेश दासले बताए। उक्त डोला फागु पूर्णिमाका दिन जनकपुरधाम फर्किएर नगरको पाँचकोसे अन्तर्गृह परिक्रमा गरी समाप्त हुने उनले बताए।
नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतीक बनेको परिक्रमाका क्रममा श्रद्धालुले १३५ किलोमिटर पैदलयात्रा गर्ने गर्छन्। श्रद्धालुका लागि नेपालको धनुषा र महोत्तरीका १३ तथा भारतका दुई गरी १५ विश्रामस्थलमा अन्न क्षेत्र घोषणा गरेर साधुसन्त तथा भक्तजनलाई निःशुल्क भोजन गराउने चलन रहेको छ।