काठमाडौँः अभिनेता पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा जबर्जस्ती करणीसम्बन्धी मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले बिहीबार दिउँसो साढे ३ बजेतिर अदालतमा अभियोगपत्र दायर गरेको हो।
१२ वर्षदेखि १४ वर्षसम्म कैद सजाय र ४ लाख रुपैयाँ क्षतिपूर्ति माग दाबीसहित अभियोगपत्र दायर भएको सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता डालबहादुर नेपालीले बताए।
फागुन १५ गते २०७७ चैत ७ गते शाहले सुटिङको क्रममा गैँडाकोट रिसोर्टमा जबर्जस्ती करणी गरेको उजुरी परेको थियो। सुटिङको क्रममा शाहले उजुरीमा उल्लेखित मितिमा होटेल बुक भएको देखिएको छ। यसलाई मुख्य प्रमाणको रूपमा पेस गरिएको छ।
१८ वर्ष नपुगेकी बालिकालाई प्रेम जालमा पारेर करणी गरेको अभियोगपत्रमा उल्लेख छ। १८ वर्ष नपुगी सहमतिमा पनि यौन सम्बन्ध राख्नुलाई प्रचलित कानुनले करणी मानेको छ। घटना भएको समयमा किशोरीको उमेर १५ वर्ष ८ महिना ४ दिन भएको अनुसन्धानमा देखिएको छ।
शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा पनि जाहेरी परेकाले अनुसन्धान भइरहेको छ।