काठमाडौँः निर्वाचन आचारसंहिता नेपाल राजपत्रमा प्रकाशित भएको छ। आसन्न चुनावहरुलाई लक्षित गरेर निर्वाचन आयोगले दलहरुको समेत परामर्शमा आचारसंहिता तयार पारेको हो। आचारसंहिता बिहीबार राजपत्रमा प्रकाशित भएको हो।
आयोगले तोकेको मितिदेखि आचारसंहिता लागू हुनेछ।
आचारसंहिता नेपाल सरकार र मन्त्रीहरु, प्रदेश सरकार र मन्त्रीहरु तथा संवैधानिक निकाय र पदाधिकारीहरुलाई लागू हुनेछ। यस्तै, प्रदेश सरकारका निकाय, स्थानीय कार्यपालिका र सोका सदस्य, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय सुरक्षाकर्मी तथा सुरक्षा सम्बद्ध कर्मचारीलाई पनि आचारसंहिता लागू हुनेछ। सरकारी, अर्धसरकारी र संगठित संस्था र कर्मचारीलाई पनि आचारसंहिता लागू हुनेछ। राजनीतिक दल र भातृ संगठन, उम्मेद्वार र प्रतिनिधि, सार्वजनिक पद धारण गरेका व्यक्ति, पर्यवेक्षक संस्था र पर्यवेक्षक, सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीलाई पनि आचारसंहिता लागू हुनेछ।
आचारसंहितामा तोकिएका सबै पक्षले पालना गर्नुपर्ने आचरणलाई व्यवस्थित गरिएको छ।
आचारसंहिता लागू हुने सबै पक्षहरुले कुनै पनि राजनीतिक दल वा उम्मेद्वारको पक्ष वा विपक्षमा प्रचार गर्न नपाइने उल्लेख छ। यस्तै, राजनीतिक दल वा उम्मेद्वारले आयोजना गरेको बैठकमा भाग लिन नहुने, वार्षिक कार्यक्रममा स्वीकृत भए बाहेकका नयाँ कार्यक्रमको घोषणा र स्वीकृति पनि बन्देज लगाइएको छ।
नयाँ पद सिर्जना, रिक्त पदपूर्ति भत्ता वृद्धि तथा ग्रेड लगायतका कुनै पनि कार्य गर्न नहुने आचारसंहितामा उल्लेख छ। निर्वाचनको काममा बाहेक कर्मचारीको सरुवा वा पदस्थापन गर्न नमिल्ने पनि आचारसंहितामा उल्लेख छ।
आयोगले जुलुस, आमसभा, कोणसभा तथा भेलाका लागि पनि नियम तोकेको छ। प्रचारका क्रममा हुने सवारी साधनको प्रयोगबारे पनि आचारसंहितामा उल्लेख छ। आयोगले चुनावी अभियानमा हेलिकोप्टर प्रयोग गर्दा अनुमति लिनुपर्ने र तोकिएको खर्च सीमाभित्र रहेर उपयोग गर्नुपर्ने व्यवस्था आचारसंहितामा गरेको छ।
आयोगले निर्वाचन प्रचारप्रसारमा आमसञ्चार माध्यमको प्रयोगलाई पनि कडाइ गरेको छ। निर्वाचन प्रचारप्रसार गर्दा एक पटकमा एक मिनेटभन्दा बढी नहुने गरी २४ घण्टामा बढीमा चार पटक प्रचार गर्न पाइने व्यवस्था गरेको छ।
राजनीतिक दलको प्रचार सामाग्री छाप्न आयोगले साइज नै तोकेको छ।
आयोगले निर्वाचन खर्च बैंकमार्फत गर्नुपर्ने आचारसंहितामा उल्लेख गरेको छ। खर्च गर्ने अख्तियार प्राप्त अधिकारी राजनीतिक दलहरुले तोक्नुपर्ने पनि आचारसंहितामा उल्लेख छ। २५ हजार रुपैयाँभन्दा माथिको चन्दा बैंकमार्फत लिनुपर्ने व्यवस्था पनि आचारसंहितामा गरिएको छ।
मौन अवधिमा कुनै पनि प्रकारको प्रचार प्रसारलाई बन्देज लगाइएको छ।
आयोगले मतदानमा खटिने कर्मचारी, मतदाता सबैले पालना गर्नुपर्ने आचारणमा पनि तोकेको छ। सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीले पालना गर्नुपर्ने आचरणमा कडाइ गरिएको छ। मौन अवधिमा सामाजिक सञ्जालबाट हुने प्रचारमा पनि सञ्चारकर्मी सामेल हुन नहुने आचारसंहितामा उल्लेख छ।