PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

नेपालले आज 'बलियो' यूएईसँग प्रतिस्पर्धा गर्दै, ब्याटिङमा सुधारको चुनौती



पहिलोपोस्ट

नेपालले आज 'बलियो' यूएईसँग प्रतिस्पर्धा गर्दै, ब्याटिङमा सुधारको चुनौती
फाइल फोटो: आईसीसी

काठमाडौं: नेपाली क्रिकेट टोलीले आज चिर प्रतिस्पर्धी यूएईसँग प्रतिस्पर्धा गर्दैछ। विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपालले आज यूएईविरुद्ध खेल्न लागेको हो। खेल दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सवा ११ बजे सुरु हुनेछ।

पछिल्लो समय यूएई लयमा छ। अघिल्लो महिनामात्र टी २० विश्वकपको ढोकैमा पुगेर यूएईसँग पराजय ब्यहोर्दा नेपाल बाहिरिन पुगेको थियो। ब्याटिङमा युवा ब्याटर बृत्य अरविन्द देखि चिराग सुरी, बसील हमदलगायतका ब्याटरले यूएईको ब्याटिङ लाइन बलियो छ। अर्कोतर्फ फितलो ब्याटिङ रहेको नेपालका लागि पपुवा न्युगिनीविरुद्धको खेलमा मिडल अर्डरका ब्याट्यम्यानले देखाएको संयमित ब्याटिङले आशा भने जगाएको छ। नेपालले यसअघिको खेलमा प्रतियोगिताकै कमजोर मानिएको पपुवा न्युगिनीमाथि संघर्षपूर्ण जित निकालेको थियो।

यी दुई टोलीले ४ वटा एकदिवसीय खेल खेलेका छन्, जसमा समान दुई/दुई जित निकालेका छन्। पछिल्ला दुई खेलमा भने नेपालले जित निकालेको छ।

नेपालका लागि अंकतालिकामा सुधार गर्ने अवसर पनि हुनेछ आजको खेल। प्रतियोगितामा सबैभन्दा कम खेल खेलेको नेपाल ९ खेलबाट १० अंक जोडेर सात टिम सम्मिलित तालिकाको छैटौं स्थानमा छ। नेपाल भन्दा पछाडी १४ खेलबाट एउटा पनि जित ननिकाले पपुवा न्युगिनी छ। यूएई भने १५ खेलबाट १८ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ। शीर्षस्थानमा २८ खेलबाट ३६ अंक जोडेको ओमन छ। तेस्रो स्थानमा १६ अंक जोडेको स्कटल्याण्ड, चौथो र पाँचौं स्थानमा समान १४ अंक जोडेका नामिबिया र अमेरिका छन्। नेपालले जारी त्रिदेशीय सिरिजका बाँकी तीन वटै खेलमा जित निकाल्न सके तेस्रो स्थानको स्कटल्याण्डसँग अंक बराबरी गर्नेछ।

कोभिडका कारण लामो समय खेलकुद प्रभावित भएकाले ओडिआई साइकलको सबै ३६ खेल निर्धारित मितिभित्र भइसक्ने देखिँदैन। यसर्थ जितको प्रतिशत बढाउन नेपाललाई दवाब पनि हुने देखिन्छ।

'ओडीआई साइकलमा सबै खेल महत्वपूर्ण छन्। हामी सबै ३६ खेल खेल्न पाउँछौ भन्नेमा समेत विश्वस्त छैनौं। यी खेल निर्धारित समयमा सकिन्छन् कि सकिन्नन्,' युएई जानुअघि कप्तान सन्दीप लामिछानेले भनेका थिए।

आजको खेलमा जित निकाले नेपालले १२ अंक जोडेर यथवत स्थानमा रहनेछ भने यूएईले जित निकाले २० अंक जोड्दै तेस्रो स्थानको स्कटल्याण्डसँग ४ अंकको दुरी बनाउनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell