11211.jpg)
काठमाडौं: आईसीसी क्रिकेट वर्ल्डकप लिग २ अन्तर्गतको त्रिदेशीय सिरिजको आजको खेलमा यूएईले टस जितेर नेपालविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेको छ। यूएईस्थित दुबई क्रिकेट रंगशालामा सवा ११ बजेबाट सुरु हुन गइरहेको खेलमा यूएईले सुरुवाती ब्याटिङ गर्नेछ। यसअघि पपुवा न्युगिनीसँग खेलेको टीममा भन्दा आज एक परिवर्तन छ। बिनोद भण्डारी प्लेइङ ११ बाट बाहिरिएका छन् भने कमलसिंह ऐरीले टीममा स्थान बनाएका छन्।
पछिल्लो समय यूएई लयमा छ। अघिल्लो महिनामात्र टी २० विश्वकपको ढोकैमा पुगेर यूएईसँग पराजय ब्यहोर्दा नेपाल बाहिरिन पुगेको थियो। ब्याटिङमा युवा ब्याटर बृत्य अरविन्द देखि चिराग सुरी, बसील हमीदलगायतका ब्याटरले यूएईको ब्याटिङ लाइन बलियो छ। अर्कोतर्फ फितलो ब्याटिङ रहेको नेपालका लागि पपुवा न्युगिनीविरुद्धको खेलमा मिडल अर्डरका ब्याट्यम्यानले देखाएको संयमित ब्याटिङले आशा भने जगाएको छ। नेपालले यसअघिको खेलमा प्रतियोगिताकै कमजोर मानिएको पपुवा न्युगिनीमाथि संघर्षपूर्ण जित निकालेको थियो।
यी दुई टोलीले ४ वटा एकदिवसीय खेल खेलेका छन्, जसमा समान दुई/दुई जित निकालेका छन्। पछिल्ला दुई खेलमा भने नेपालले जित निकालेको छ।
नेपाली टोली
सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आशिफ शेख, कमलसिंह ऐरी, सागर ढकाल, करण केसी, रोहित पौडेल, सोमपाल कामी
यूएई टोली
मोहम्मद वसीम, चिराग सुरी, बृत्य अरबिन्द, चुन्डनगापोइल रिजवान, आशिफ खान, बसील हमीद, रोहन मुस्तफा, खासिफ दाउद, अहमेद राजा, जहुर खान, जुनैद सिद्धिकी