PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

अमेरिकाबाट आएका पुरुषले ल्याएको ड्रोनभित्र सुन भेटियो, अनुसन्धानको लागि हिरासतमा



पहिलोपोस्ट

अमेरिकाबाट आएका पुरुषले ल्याएको ड्रोनभित्र सुन भेटियो, अनुसन्धानको लागि हिरासतमा

काठमाडौं : अमेरिकाबाट आएका एक पुरुषले अवैध रूपमा सुन ल्याएको भेटिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले राई थर भएका पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। उनले ल्याएको ड्रोनभित्र सय ग्राम सुन भेटिएको हो।

‘एउटै सय ग्रामको ढिक्का ड्रोनभित्र भेटिएको हो, अरू पनि सुन भेटिएको छ,’ भन्सार कार्यालयका एक अधिकृतले भने।

भुटानी शणनार्थी रहेका पुरुष दिउँसो काठमाडौं आइपुगेका थिए। त्यस्तै, जुत्ताको तलुवाभित्र पनि ९ सय ३४ ग्राम सुन जस्तो बस्तु भेटिएको छ। बाहिर चाँदी जस्तो देखिएको बस्तु भित्र रहेको अर्को पदार्थ सुन हुन सक्ने आशङ्कामा ल्याब परीक्षण गरिएको छ। तर, रिपोर्ट आइसकेको छैन।

भन्सार ऐनअनुसार नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई फर्कँदा व्यक्तिगत प्रयोगका लागि सुनको गहना ५० ग्रामसम्म ल्याउन पाउँछन्।

यस्तै, भन्सार ऐनअनुसार बनेको निर्देशिकाले एक व्यक्तिले विदेशबाट आउँदा ५० ग्राम बाहेक थप २ सय ग्रामसम्मको सुनका गहना ल्याएमा भन्सार महसुल बुझाई जाँचपास गर्न सकिने व्यवस्था छ। सोभन्दा बढी गहना ल्याएमा जफत हुन्छ।

५० देखि १ सय ग्राम सुनका गहना विदेशबाट ल्याउनुपर्दा प्रति १० ग्राम १० हजार रुपैयाँका दरले भन्सार शुल्क तिर्नुपर्छ। त्यसभन्दा बढी थप एक सय ग्रामसम्म सुनका गहनामा प्रति १० ग्राम १२ हजार रुपैयाँ तिर्नुपर्ने प्रावधान छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell