PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

गोलकिपर अञ्जिला तुम्बापो सुब्बाको जीवनीमाथि फिल्म बन्ने



पहिलोपोस्ट

गोलकिपर अञ्जिला तुम्बापो सुब्बाको जीवनीमाथि फिल्म बन्ने

काठमाडौं : फुटबल खेलाडी अञ्जिला तुम्बापो सुब्बाको जीवनमाथि फिल्म बन्ने भएको छ। महिला राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक सुब्बाको बायोपिकमा आधारित फिल्म ‘अञ्जिला’ बन्ने घोषणा भएको हो।

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजको उपस्थितिमा काठमाडौंमा आयोजित कार्यक्रमबिच फिल्म बनाउने घोषणा गरिएको हो। अञ्जिलाले फुटबलर बन्नका लागि गरेको संघर्ष र सफलताको कथालाई फिल्ममा जोड दिइने निर्देशक मिलन चाम्सले जानकारी दिए।

‘अञ्जिलाको बालापनदेखि खेल जीवनसम्मको कथालाई फिल्ममा देखाउने छौँ। सफल खेलाडी बन्नुअगाडि अञ्जिलाले गरेका दुःखहरु धेरै छन्, त्यसलाई फिल्ममा मुख्य विषयवस्तु बनाएका छौँ। फिल्मले अरूलाई उत्पेरणा पक्कै दिनेछ,’ चाम्सले भने।

फिल्ममा अञ्जिला मुख्य भूमिकामा देखिनेछिन्। साथै, फिल्ममा दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रेमकुमार श्रेष्ठ लगायतको पनि अभिनय रहनेछ।

अञ्जिलाले पहिलो पटक अभिनयको अनुभव बटुल्दैछिन्। आमाकै कारण पनि फिल्ममा अभिनय गर्न लागेको उनले बताइन्। आफू थियटरमा अभिनय सिकिरहेको र आफ्नो तर्फबाट फिल्मको लागि कुनै कसर बाँकी नछाड्ने बताउँछिन् उनी। आफ्नो जीवनीमा फिल्म बन्नु आफ्नो ठूलो उपलब्धि रहेको उनको भनाइ छ।

अञ्जिलाको कष्टकर बाल्य जीवनदेखि सफलतासम्मको कथालाई फिल्मलाई देखाइने निर्माता प्रेम कुमार श्रेष्ठले बताए। १३ वर्षदेखि अञ्जिलाको अभिभावकत्व ग्रहण गर्दै आएका उनले शिक्षादेखि खेलाडी बनाउने सहमतिमा अञ्जिलालाई मोरङबाट काठमाडौं ल्याएका थिए।

खेलकुदको विषयमा र वास्तविक पात्रले नै अभिनय गर्ने ‘अञ्जिला’ पहिलो नेपाली फिल्म भएको निर्माता श्रेष्ठको दाबी छ। साथै, अञ्जिलाको जीवनमाथि फिल्म बनाउनुको कारण समेत खुलाए उनले।

भन्छन्, ‘अञ्जिलाको जीवनीमा नै फिल्म बनाउने निर्णय किन गर्‍यौँ भने उसको कथा प्रेरणामुलक छ। खेल क्षेत्रमा संघर्ष गर्ने पात्रहरुको प्रतिनिधित्व गर्दै अञ्जिलाको जीवनीमा फिल्म बनाउन लागेका हौँ। उसको संघर्ष र सफलताको कथाले धेरैलाई इन्स्पायर्ड गर्छ भन्नेमा विश्वस्त छौँ।’

केन्द्र मोशन पिक्चर र मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको फिल्ममा प्रेमकुमार श्रेष्ठ र केन्द्र लिम्बु निर्माता छन्। विनोद अग्रवाल र राजेश अग्रवाल सह-निर्माता रहेको फिल्मको आउँदो वर्षको जेठबाट छायाङ्कन सुरू हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell