
काठमाडौं: आईसीसी क्रिकेट वर्ल्डकप लिग २ अन्तर्गतको त्रिदेशीय सिरिजको आज सम्पन्न खेलमा नेपाल यूएईसँग पराजित भएको छ। यूएईस्थित दुबई क्रिकेट स्टेडियममा सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग ४८ रनले पराजित भएको हो।
टस जितेर ब्याटिङमा उत्रिएको यूएईले ४६.३ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनाएको थियो। जवाफी ब्याटीङमा उत्रिएको नेपाल ३५.१ ओभरमा १ सय २० रनमा समेटियो।
खराब सुरुवात गरेको यूएईका लागि मुख्य ब्याट्सम्यानहरु चिराग सुरी र बृत्य अरबिन्दलाई क्रमश ६ र ३ रनमा सोमपाल कामीले आउट गराएपछि सुरुबाटै यूएई दवाबमा आएको थियो। त्यस्तै अर्का ओपनर मोहम्मद वसीमलाई पनि सोमपालले नै २१ रनमा ज्ञानेन्द्र मल्लको हातबाट क्याच आउट गराए। त्यसपछि संयमित ब्याटिङ गरेको युएईका लागि चुन्डनगापोइल रिजवान र रोहन मुस्तफाले समान सर्वाधिक ४० रन बनाउँदा काशिफ दाउदले १८, बसील हमीदले १४ तथा कप्तान अहमेद राजाले १३ रन जोडे।
बलिङतर्फ सानदार प्रदर्शन गरेका सोमपाल कामीले ९ ओभरमा ३९ रन दिएर ४ विकेट लिँदा किफायती बलिङ गरेका करण केसीले ७.३ ओभरमा १ मेडन राख्दै १६ रन दिएर ३ विकेट लिए। त्यसबाहेक कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको नेपालको सुरुवात बाटै प्रदर्शन राम्रो हुन सकेन। ओपनर कुशल भुर्तेललाई ११ रनमा गुमाएको नेपालले आशिफ शेखलाई ७ र दीपेन्द्रसिंह ऐरीलाई ४ रनमा गुमायो। त्यसपछि नेपालको पारी ज्ञानेन्द्र मल्ल र रोहित कुमार पौडेलले उठाए पनि मल्ल २८ रन बनाएर पभेलियन फर्किए। त्यसपछि आएका ब्याट्सम्यान आरिफ शेख र कमलसिंह ऐरीले रन जोड्न नसक्दा सोमपाल कामी ६ रनमा क्याचआउट हुन पुगे। त्यस्तै रोहितकुमार पौडेल ४६ रनमा आउट हुँदा नेपालको हातबाट खेल फुत्कियो। कप्तान सन्दीप लामिछानेले ७ रन बनाउँदा करण केसी ६ रनमा आउट भए।
बलिङतर्फ यूएईका बसील हमीदले सर्वाधिक ४ विकेट लिँदा जुनैद सिद्धिकीले ३ विकेट तथा जहुर खान र रोहन मुस्तफाले समान १ विकेट लिए।
नेपालले सोमवार फेरि यूएईसँगै प्रतिस्पर्धा गर्नेछ।