PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

सुन्दर पोखराको कुरुप दृश्य : महानगर कार्यालय अघिकै फोहोर उठ्दैन



रिना थापा

सुन्दर पोखराको कुरुप दृश्य : महानगर कार्यालय अघिकै फोहोर उठ्दैन

पोखरा : पोखरा महानगरपालिका कार्यालयको दुई छेउमा फोहोरको डंगुर छ। महानगर कार्यालय अगाडि मात्र होइन यतिबेला पोखराको सडक र चोकचोकमा फोहोरको डंगुर छ। वडा १४ स्थित बाच्छीबुढुवामा रहेको ‘ल्यान्डफिल साइट’बारे स्थानीयसँग विवाद चुलिएपछि चैत्र १ गतेदेखि पोखराको फोहोर नउठेको हो। वडावासीले महानगरपालिकाको फोहोर बोक्ने गाडी ‘ल्यान्डफिल साइट’मा प्रवेश गर्न रोक लगाएका छन्।

२०५७ साल अघिदेखि पोखराले फोहोर फाल्ने ठाँउको रुपमा बाच्छीबुढुवामा रहेको ‘ल्यान्डफिल साइट’लाई प्रयोग गर्दै आएको छ। आफुहरुबिच भएको सम्झौता महानगरले कार्यान्वयन नगरेको भनेर वडावासीले फोहोरको गाडी प्रवेशमा रोक लगाएका हुन्। सम्झौता कार्यान्वयनका लागि महानगरसँग बारम्बार छलफल भए पनि सुनुवाइ नभएकाले गाडी प्रवेशमा रोक लगाएको 'ल्यान्डफिल साइट प्रभावित जनसरोकार समिति'का अध्यक्ष बोधराज कार्कीले बताए।

'महानगरले विकास दिन्छौं भनेर फोहोर फाल्न दिएका हौं। हामीले फोहोरसँग मोहोर साटेको हो,' अध्यक्ष कार्कीले भने,'महानगरले आफैंले कबुल गरेका कुरा पूरा गर्दैन भने बारम्बार ताकेता गर्दा नसुनेर यसरी विरोधमा उत्रिन बाध्य भएका छौं।'

महानगरले गरेका विकासको सम्झौता कार्यान्वयन गरे मात्र फोहोर फाल्न दिने कार्की बताउँछन्। तत्कालीन समयमा वडावासीसँग २८ बुँदे सम्झौता भएको थियो। सो, सम्झौता कार्यान्वयन नभएपछि १४ महिना अगाडि वडावासीले महानगर प्रमुख मानबहादुर जिसीसँग ७ बुँदे सम्झौता गरेका थिए। महानगरसँग भएको ७ बुँदे सम्झौता कार्यान्वयनमा नआएपछि तीन महिना अगाडि पनि वडावासी कार्यवाहक प्रमुख मन्जुदेवी गुरुङ समक्ष आइपुगेका थिए।

पटक-पटकको ताकेता बाबजुद महानगरले वडावासीसँग गरेको सम्झौता कार्यान्वयनमा ल्याउने छाँटकाँट नदेखाएपछि एकहप्ता अगाडि पुन: महानगर आइपुगेका थिए वडावासी। समितिले माघ ९ गतेपनि महानगरलाई पत्र बुझाएको थियो। महानगर सम्झौताबाट पन्छिन खोजेको अध्यक्ष कार्की सुनाउँछन्।

'हामीले धेरै पटक महानगरलाई भन्यौं, पछिल्लो पटक महानगर पुग्दा के गर्नु हुन्छ गर्नुस् भने हाकिमहरुले। बाध्य भएर नै पोखराको फोहोर फाल्न रोकेका हौं,' उनले भने,'विकास दिएर ल्यान्डफिल साइट लिनुपर्छ महानगरले।'

वडावासी माग के ? कहिले-कहिले भएको थियो सम्झौता ?

पोखराले २०५७ सालदेखी वडा १४ स्थित बाच्छीबुढुवा लाई ल्यान्डफिल साइटको रुपमा प्रयोग गर्दै आएको हो। साविक पोखरा उपमहानगर र वडा १८ (अहिले १४) का वडावासी बीच पहिलोपटक २०५७ साल भदौ १३ गते २८ बुँदे सम्झौता भएको थियो। महानगरले सम्झौता कार्यान्वयन नगरेपछि २०६५ चैत्र ११ गते पुन: सम्झौता भएको थियो। लामो अवधिसम्म पनि सम्झौता कार्यान्वयन नभएपछि २०७७ मंसिर २ गते २८ बुँदे सम्झौता ७ बुँदामा झरेको थियो। ७ बुँदे सम्झौता गरेको वर्षदिन बित्दापनि महानगरले वास्ता नगरेपछी यहि माघ ९ गते समितिले महानगरमा पत्र बुझाएको थियो।

त्यस्तै बाच्छीबुढुवाका बासिन्दाको माग पोखरा महानगरको वार्षिक विकास बजेट मध्ये दुई प्रतिशत वडामा खर्च गर्नुपर्ने थियो। यस्तै वडावासीले वडामा स्वास्थ्यकर्मीसहितको ल्याब स्थापना गर्ने माग राखेका छन्। वडा १४ लाई वडा २१ र ३३ सँग जोड्नका लागि मोटरेबल पुल निर्माण गर्नुपर्ने उनीहरुको माग छ। वडामा खेल मैदान बनाउने वडाको सडकखण्डको कामलाई बहुवर्षीय योजनामा सामिले गर्ने लगायत अन्य विकास बारे वडावासीले सम्झौता गरेका थिए।

के भन्छ महानगर ?

वडावासीको माग सम्बोधन नगरी ल्यान्ड फिल साइट संचालन गर्ने पक्षमा देखिन्छ महानगर। सम्झौता कार्यान्वयन नगरी तत्काल सडकको फोहोर व्यवस्थापन गर्नेमा महानगर केन्द्रित छ। वडावासीको सबै माग सम्बोधन गर्न तत्काल सम्भव नरहेको महानगरका सूचना अधिकारी भरतराज पौडेल बताउँछन्।

केही माग प्रक्रियागत हिसाबले ठेक्कामा लैजानुपर्ने भएकाले तत्कालै सम्भव नरहेको उनको भनाइ छ।

'कुनै माग तत्काल कार्यान्वयन हुन सक्ने छन् कुनै ठेक्का प्रक्रिया गरेर गर्नुपर्ने खाले छन्। अब त्यो भएर उहाँहरुले कार्यान्वयनको सुनिश्चित चाहियो भन्नु भएछ अब कार्यान्वयनको प्रक्रिया अगाडि बढाउन सरकारी कार्यालय पनि कानुन अपनाउन पर्‍यो,' पौडेलले भने,' त्यसको लागि समय लाग्छ। समय लाग्ने कुरामा अन्यथा गर्न मिल्दैन। अब सहमति गरम भनेर हाम्रो कुराकानी भइराखेको छ। अब सहमति भएसी उठ्ला नि फोहोर।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell