PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

कुमारी घरबाट चोरिएको तोरन र मञ्जुश्री मन्दिरको मूर्ति बेलायतले नेपाललाई गर्‍यो हस्तान्तरण



पहिलोपोस्ट

कुमारी घरबाट चोरिएको तोरन र मञ्जुश्री मन्दिरको मूर्ति बेलायतले नेपाललाई गर्‍यो हस्तान्तरण

काठमाडौं : बेलायतले नेपालबाट हराएका दुई वटा कलात्मक सांस्कृतिक सम्पदा नेपाली पक्षलाई हस्तान्तरण गरेको छ। लण्डनस्थित दूतावासमा शुक्रबार आयोजित एक कार्यक्रममा लण्डन महानगरीय प्रहरी कार्यालयका गुप्तचर निरीक्षक जोन रोचले बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई ती सामग्री हस्तान्तरण गरेका हुन्।

नेपाललाई हस्तान्तरण गरिएका कलाकृतिमा १६ औं शताब्दीको काठमा कुँदिएको तोरन र १८ औं शताब्दीको नमस्कार मुद्रासहित घुँडा टेकेका भक्तको मूर्ति समावेश छ। सन् १९८०-१९९० को दशकमा काठमाडौँको हनुमानढोका दरबारक्षेत्रको पूर्वपट्टि रहेको कुमारी बहालबाट तोरन हराएको थियो। घुँडा टेकेको भक्तको मूर्ति ओम बहाल नजिकैको मञ्जुश्री मन्दिरको भएको लण्डनस्थित दूतावासले जनाएको छ।

कार्यक्रममा राजदूत आचार्यले नेपालका हराएका कलाकृतिको पुनःप्राप्तिमा संलग्न महानगरीय प्रहरी र कला तथा पुरातात्विक वस्तु एकाइका सबै पदाधिकारीप्रति कृतज्ञता ज्ञापन गरेका थिए।

गुप्तचर निरीक्षक रोचले महानगरीय प्रहरी कला तथा पुरातात्विक एकाइले यी दुई बहुमूल्य सम्पदा बरामद गर्नमा आफ्नो भूमिकामा गौरवान्वित भएको र नेपाल फर्काउन पाउँदा खुसी लागेको बताएका थिए।

ती सामाग्री नेपाल सरकारलाई पुरातत्व विभागमार्फत शीघ्र हस्तान्तरण गरिने दूतावासले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell