PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

अमेरिकाको बसाइ छाडेर राजनीतिमा होमिएका 'कर्पोरेट मेयर' महेश खरेल भन्छन् : अब पाँचखालमा गरिने लगानी खेर जाँदैन



उन्नत सापकोटा

अमेरिकाको बसाइ छाडेर राजनीतिमा होमिएका 'कर्पोरेट मेयर' महेश खरेल भन्छन् : अब पाँचखालमा गरिने लगानी खेर जाँदैन

काठमाडौं : सेवा प्रवाहमा वाग्मती प्रदेशबाट उत्कृष्ट ठहर गर्दै २०७६/७७ मा प्रदेश सरकारले काभ्रेको पाँचखाल नगरपालिकालाई सम्मान गर्दा जति कार्य सम्पादनको चर्चा भयो, त्यति नै चर्चा पाए नगरप्रमुख महेश खरेलले।

निर्वाचनबाट नेतृत्वमा आएसँगै सुरुमै तलबभत्ता नलिने घोषणा गरेका खरेलको कार्यकालमा पाँचखालका लागि सर्वाधिक महत्त्वको विषय छ, घरजग्गाको मूल्यांकन। स्मार्ट सिटी बनाउन निफ्राको रोजाइमा पर्नु र शैक्षिक हब बनाउने योजना अघि बढ्नुले उनको कार्यकालमा पाँचखाल बसोबास योग्य मात्र होइन अवसरको ढोका पनि खोल्दैछ।

घरजग्गा महँगा भएको छ। जग्गा किनबेचको कुरा चल्दा रोपनीका कुरा गर्नेहरु भाउ बढेर आनामा झरेका छन्। वडाहरुमा सडक पहुँच, खानेपानी, बिजुली, स्वास्थ्य केन्द्र र विद्यालय सुधारले पाँचखाल अब ५ वर्ष अघि जस्तो छैन। बसोबासका लागि उत्तम ठाउँ बनेको छ। 

पूर्वाधार विकासका योजनाले गति लिएकाले निर्वाचित जनप्रतिनिधिको पहिलो कार्यकाल समापनतिर आउँदा पाँचखालको जग्गाको भाउ आकासिएको छ। खरेल जस लिँदैनन्, मिलेर गरेको काम र सबैको सहयोग रहँदा योजनाहरु सफल भएको भन्न छुटाउँदैनन्। तर उनी मुलुकका ७५३ स्थानीय तहका जनप्रतिनिधिबीच 'कर्पोरेट मेयर'का रुपमा चर्चित छन्, जो नगरपालिकामा तलब लिँदैनन्, आफैं व्यवसाय गर्छन्। व्यवसायको वातावरण बनाउन जोड गर्छन्।  

खरेललाई नजिकबाट चिन्नेहरुलाई मात्रै थाहा छ, उनको यो व्यक्तित्व विकास जीवनमा कति आरोह अवरोह पार गरेपछि भएको हो भनेर। अमेरिकाको बसाई छाडेर घर फर्किन उनलाई समाजसेवाको हुटहुटीले डोर्‍याएको थियो, जो जनप्रतिनिधिका रुपमा उनले अघि सारेका योजनाले पुष्टि गर्छन्।

महेशका पिता राजेन्द्र खरेल कांग्रेसका प्रखर नेता। पञ्चायतकालीन व्यवस्थाविरुद्ध लड्दै गर्दा नख्खु जेल परे। आमा ८ महिनाकी गर्भवती थिइन। गोरुले हानेर कान्लाबाट तल्तिर झारिदियो। उठाएर अस्पताल लैजाने कोही भएन। त्यो बेला न त गाडीको सहज सुविधा। ठूलो विपद्सँग जुधेर पनि उनले छोरालाई जन्म दिइन।

महेशलाई जन्माउनु एक दिन अघिसम्म पनि उनकी आमाले झण्डै ४५ मिनेट हिँडेर पँधेरोमा पानी लिन जानुपर्ने बाध्यता थियो। अभावदेखि आधारभूत सुविधाको पहुँचबाट परै थियो पाँचखाल। २०३४ मा पाचखाँलको खरेलथोकमा जन्मिएका थिए महेश। अभाव र संघर्षलाई जित्दै हुर्किए उनी।

गाउँमा पर्याप्त शिक्षा र अवसर नपाइने देखेपछि महेश काठमाडौं आए। कक्षा १० सम्म काठमाडौंमै पढे। प्लस टू पढ्न दुई वर्ष भारत लागे। प्लस टू सकेसँगै उनले उच्च शिक्षा पढ्न अमेरिकाको भिसाका लागि आवेदन दिए। भिसा पाए। विद्यार्थीकालदेखि नै उनी कांग्रेसको भ्रातृ संस्था नेविसंघमा सक्रिय थिए।

कृष्णप्रसाद भट्टराईलाई आदर्श ठान्ने महेश समाज सुधारको विभिन्न काममा संलग्न भए। 'सधैं मनमा के थियो भने एकदिन केही गर्नु छ मैले देश र यहाँका नागरिकका लागि। मेरो आमा जस्ता अरु व्यक्तिहरुका लागि केही गर्नुपर्छ भन्ने खत मनमा थियो। दुःखलाई सुखमा बदल्ने आँटसहित म अमेरिका हान्निएको थिएँ,' महेशले बिगत सम्झँदै भने। 

अमेरिकामा उनले बीबीएको पढाइसँगै काम गर्न थाले। दिनको १६ घण्टासम्म काममा होमिएका उनलाई सधैं अरुकहाँ काम गरेर हुँदैन आफैंले रोजगारी सिर्जना गर्नुपर्छ भन्ने लाग्न थाल्यो। अमेरिकामै व्यवसाय सुरु गरे। नर्थ इस्ट मलमा क्यानडाबाट स्लिपर र पर्फ्युम झिकाएर कारोबार थाले। समयसँगै स्टोरहरु लिजमा लिएर व्यवसाय अघि बढाए। १६ वटा पम्पसहितको ग्यास स्टेसनदेखि मनी सर्भिस सम्बन्धी व्यवसायमा उनले हात हाले।

उनले युनिभर्सिटी अफ सेन्ट्रल ओक्लोहामाबाट बीबीए पूरा गरे। सँगै उद्यमशीलतासम्बन्धी विषय लिएर उनले एमबीए पनि अमेरिकाबाटै पूरा गरे। मास्टर्स सकेर महेश १४ वर्षको अमेरिका बसाइपछि नेपाल फर्किएका हुन् उनी।

कर्पोरेट नगरप्रमुख !

नेपाल फर्किएसँगै उनले पुलिस क्लबमा रहेको हेल्थ क्लब चलाएका थिए। बानेश्वर कात्यायनी चोकमा रहेको आनन्द इभेन्ट्स केही साथीहरुसँग मिलेर खोलेका थिए। उनले रेष्टुरेन्टदेखि धुलिखेलमा माछापालन व्यवसायसम्म लगानी विस्तार गरेका छन्। 

व्यवसायिक रुपमा मात्रै होइन महेश राजनीतिक रूपमा पनि सफल देखिएका छन्। गत स्थानीय तहको निर्वाचनमा पाँचखाल नगरपालिकाको प्रमुखमा निर्वाचित भएका हुन् उनी। कम्युनिस्टको गढ मानिने पाँचखालमा उनी कांग्रेसकातर्फबाट निर्वाचित भएका थिए।  

उनले पानी उद्योगदेखि ढल्केबरमा रहेको १० मेगावाटको सोलार प्लान्टमा लगानी विस्तार गरेका छन्। यो परियोजनाबाट उत्पादित ऊर्जा राष्ट्रिय ग्रीडमा समेत जोडिएको महेशले बताए। निर्माणाधीन अपर लाप्चे जलविद्युत आयोजनामासमेत उनी प्रमोटरका रूपमा क्रियाशील छन्।
अमेरिकाबाट फर्किएपछि राजनीतिक करिअरसँगै रोजगारी सिर्जनामै आफ्नो महत्वपूर्ण समय बिताएको महेशले बताए। 

‘नेपालमै केही गर्ने हुटहुटी थियो। केही व्यवसायमा सफल भइयो त केहीमा असफल। मान्छेहरु अमेरिकालाई अवसरको ठाउँ भन्छन् तर, नेपाल इज द ल्याण्ड अफ अपर्च्युनिटी। जुन क्षेत्रमा छिरे पनि कामै-काम छ। मैले अमेरिकाबाट कमाएर ल्याएको केही पैसा मजाले फिक्स्ड डिपोजिटमा राख्न सक्थें। तर मैले नेपालमा अवसर देखें र त्यो पुँजी लगानी गर्दै यहाँ आइपुगेको छु,’ महेशले भने।

‘पाँचखालको प्रोपर्टी भ्यालुएसन १० गुणाले बढ्यो’

आफू मेयर भएर कार्यकालको उत्तरार्द्धमा पाँचखाल नगरपालिका भित्र घरजग्गाको मूल्य १० गुणाले बढेको दाबी गर्छन् खरेल।

‘व्यवसायिक रुपमा हेर्दा पाँचखाल नगरको जग्गा वा प्रोपर्टीको भ्यालुएसन १० गुणाले बढेको छ। चुनाव जित्नुअघि ज्यादै न्यून थियो। सरकारले प्रत्येक पालिकामा कालोपत्रे बाटो पुर्‍याउने लक्ष्य राख्यो। तर, हामीले पाँचखालको १३ वटै वडा पुग्ने एउटा मुख्य सडक कालोपत्रे गर्ने काम सकिसकेका छौं। अरु सरकारहरुसँग सहकार्य गरी हामीले करिब ८० किमी बाटो कालोपत्रे वा ढलान गरिसकेका छौं,’ खरेलले भने। 

काठमाडौंमा सडक विस्तार गर्नुपर्ने जुन दुर्दशा आयो त्यसबाटै पाठ सिकेर पाँचखाल नगरले हरेक सडकहरु न्यूनतम ६ मिटर चौडाइ र बाटोको मध्य बिन्दुबाट घटीमा ५ मिटर रहेको खरेलले जानकारी दिए। घर तथा संरचनाहरुको सेटब्याक १.५ मिटरदेखि २ मिटरसम्म कायम गरिएकाले दीर्घकालसम्म सडकको समस्या नहुनेमा उनी ढुक्क छन्।

त्यसैगरी, पाँचखाल नगरपालिकाले खेतीयोग्य जमिन जोगाउन डाँडाको वरपर वा पुछारमा दुईवटा रिङरोड निर्माण अघि बढाएको छ। केही अप्ठ्यारो ठाउँबाहेकमा ट्रयाक खोल्ने काम भइरहेको र केहीमा कालोपत्रेसमेत अघि बढेको उनले बताए। 

‘पूर्वाधार र बस्ती डाँडाको छेउछाउ बसोस् भन्ने हाम्रो योजना हो। जसका कारण खेतीयोग्य जमिन मासिँदैन। हामीले कानूननै बनाएर जहाँ धान फल्छ त्यस्तो जमिनहरुमा घर बनाउन पूर्ण बन्देज लगाएका छौं। त्यहाँ व्यवसायिक योजना बनाउनै पाइँदैन। प्रत्येक नक्सा पासमा पिटहोल र सेप्टिक ट्यांकी अनिवार्य गरेका छौं,’ खरेलले भने, ‘हामीले हरित महिला औद्योगिक ग्राममार्फत् महिलाहरुले त्यहाँ उत्पादन गर्ने वस्तुहरु ग्रेडिङ/प्याकेजिङ गरेर स्वदेशी तथा विदेशी बजार पठाउने गरी तयारी थालेका छौं।’

'सार्क वुमन आन्टरप्रेनियर'सँग सम्झौता गरेर पाँचखाल नगरपालिकाले १०० रोपनीमा फैलिने हरित महिला औद्योगिक ग्राममा उद्योग स्थापना गर्दैछ। अहिले नगरपालिकाले उद्योगसम्म पुग्ने बाटो र अन्य पूर्वाधार निर्माण गर्न डीपीआर निर्माण गरिसकेको छ। 

पाँचखालको अधिकांश सबै स्थानमा कालोपत्रे वा ढलान भइसकेकाले नगरवासीहरुको जग्गाको मूल्यांकन बढेको उनी बताउँछन्। मूल्यांकन बढेकाले विपन्न परिवारहरुले पनि घरजग्गा धितोमा राखेर राम्रो कर्जा पाउने अवस्था बनेको खरेलको भनाइ छ। उक्त कर्जा शिक्षादेखि उद्यमशीलता विकासमा पाँचखालका बासिन्दाहरुले उपयोग गरिरहेको उनले बताए। 

त्यसैगरी, पाँचखाल नगरपालिकाले पाँच लाख रुपैयाँभन्दा माथिको आयोजनाका लागि अनिवार्य 'इ-टेन्डर' गर्न नेपालमै पहिलो अभ्यास सुरु गरेको दाबी खरेलले गरे। यसले नगरपालिकालाई पारदर्शी र सुशासन कायम गर्न सघाएको उनको विश्वास छ। 'इ-टेन्डर'को यो अभ्यासका कारण ‍औसत ३५-४० प्रतिशत सस्तोमा ठेक्का अवार्ड गर्न पाँचखाल नगरपालिका सफल भएको छ। 

'इ-टेन्डर'का कारण अधिकांश परियोजनाहरुको अनुमानित लागत घटेकाले नगरपालिकाले आफ्नो वार्षिक कार्यक्रम र बजेटमा अनुमान गरेर छुट्याएको बाँकी पैसा अरु परियोजना निर्माणमा खर्चिन पाएकाले धेरै काम सुरु गर्न सफल भएको जिकिर खरेलको छ।   

१००० रोपनीमा सेजदेखि शैक्षिक हब बन्दै 

सरकारले पहिल्यै स्वीकृत गरेको सेजमा देखापरेको सुकुम्बासीदेखि रुख कटान, बाटो, व्यक्तिगत घर लगायतका समस्या समाधान गरी कम्पाउन्ड वाल निर्माण भइसकेको खरेलले जानकारी दिए। मेयर निर्वाचित भएर आएसँगै यी समस्याहरु समाधान गर्न नगरपालिकाले भूमिका खेलेकाले काम अघि बढेको उनले दाबी गरे। 

सेजको प्रशासनिक भवन निर्माणसहित स्लट तयार भइसकेको बताइएको छ। सेजमा करिब ४४ वटा उद्योग राख्ने सरकारको तयारी छ। जसबाट झण्डै चार हजार रोजगारी सिर्जना हुनेछ। 

पाँचखालमै काठमाडौं विश्वविद्यालयले एग्रोटेक र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को पढाई सुरु गरिसकेको छ। जसका लागि नगरपालिकाले आफ्नै भवन उपलब्ध गराएको खरेलले बताए। पाँचखाल नगरपालिकाको वडा नं २ अनैकोटमा ५०० रोपनी जग्गा केयूलाई उपलब्ध गराउने प्रक्रिया नगरपालिकाले थालिसकेको छ। 

मदनभण्डारी विश्वविद्यालयलाई १२ हजार रोपनी जग्गा पाँचखाल नगरले नै उपलब्ध गराउँदै सरकारले एक अर्ब रुपैयाँ दिएर मुआब्जासहितका काम अघि बढिसकेको खरेलले बताए। 

‘हामीले हरित महिला ‌औद्योगिक ग्राम, सेज, केयू र मदनभण्डारी विश्वविद्यालयलाई पाँचखाल भित्र्याएर त्यहाँको आर्थिक गतिविधिलाई माथि उठाइरहेका छौं। पाँचखाल भोलि आर्थिक, शैक्षिक र कृषिको संगमस्थल बनाउन हामी लागिरहेका छौं,’ खरेलले भने। 

दक्षिण एसियाको ठूलो ‘स्मल टाउन वाटर प्रोजेक्ट’

एसियाली विकास बैंक (एडीबी) र नगर विकास कोषसँगको सहकार्यमा पाँचखाल नगरपालिकाको सबैभन्दा ठूलो समस्या खानेपानी समाधान गर्न सुनकोशी खानेपानी आयोजनाको काम अघि बढाइएको छ। 

२ अर्ब २५ करोड रुपैयाँ लागतमा सुनकोशीको पानी लिफ्टिङ गरेर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेको मापदण्डको खानेपानी पाँचखालका सबै घरघरमा ट्यांकीबिना पुर्‍याउने तयारी भइरहेको खरेलले जानकारी दिए।

‘ग्रयाभिटीबाट हामी ट्यांक लेस पानी सबै वडामा पुर्‍याउँछौं। यो परियोजना बनेपछि हामी कहाँ जार र मिनिरल वाटर बोटल आवश्यक पर्दैन। घरको माथि ट्यांकी राख्ने चलन छ त्यो पाँचखालका घरहरुमा देखिँदैन। खानेपानीमा पाँचखालमा हामीले आत्मनिर्भर बनाइसक्यौं,’ खरेलले भने।

कुनै समय पाँचखालमा उत्पादन अधिकांश तरकारीमा अधिक विषादी प्रयोग हुने गरेको भन्दै प्रश्न उठ्ने गरेको थियो। तर, अहिले पाँचखालमा उत्पादित तरकारी विशेषतः आलु अर्गानिक रहेको कृषि ज्ञान केन्द्र र कालीमाटी तरकारी बजारले ल्याब परीक्षणले पुष्टि गरेको खरेलले बताए। 

‘अवसर देखेरै निफ्राको आँखा पाँचखालमा’

निफ्राले स्मार्ट सिटी बनाउन पाँचखाललाई नै रोज्नुमा आर्थिक, शैक्षिकदेखि अवसर देखेरै छानिएको खरेलले जिकिर गरे। 

‘पाँचखालमा गरिने लगानी खेर जाँदैन। आर्थिकदेखि अन्य अवसरहरु पाँचखालमा निकै रहेकाले निफ्राको पाइलट प्रोजेक्ट यहाँ सफल बनाएर हामी देशका अन्य भागहरुमा यसलाई अगाडि बढाउन आवश्यक सहयोग गर्न तयार छौं,’ खरेलले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell