
पोखरा : शनिवार र बिदा हुनासाथ पोखरा बजारबाट थोरै माथि पर्ने मेथलाङ डाँडा उक्लिन्थे एन्जल तिमिल्सिना। पोखरा शहर र फेवातालको मन लोभ्याउने दृश्य नियाल्न सराङकोटको डाँडा नभइ छेउमै पर्ने मेथलाङको डाँडाले तान्थ्यो एन्जललाई। दश वर्ष अघि उनका बुबा रुद्र तिमिल्सिनाले मेथलाङमा रक गार्डन रिर्साट संचालनमा ल्याएका थिए। विद्यालय बिदा हुनासाथ बाबाकै रिसोर्टमा पुगिहाल्थे उनी। बाल्यकालमा नै व्यवसायीक माहोलमा रुचि लिँदै गए उनले। रिसोर्टको विकासका लागि बाल मन र मस्तिष्कमा अनेकौं चित्र कोर्थे उनी। त्यही बेला ‘स्काइ वाक’को भिडियोले थप प्रभावित पार्यो उनलाई।
‘अन्य देशको भिडियोमा देखेको पनि थिएँ। दुईवटा खोच देख्दा बच्चामा हुँदा इम्याजिन गर्थे,’ उनले भने,‘त्यति खेर नै एकदम लागेको थियो यहाँ बनाउँदा राम्रो हुन्छ भनेर।’
पोखरामा ‘स्काइ वाक’को सम्भावना मेथलाङको डाँडामा हुन्छ भन्नेमा उनलाई विश्वास थियो। बागलुङ हाइवेबाट सराङकोट उक्लिनु अघि नै आउँछ मेथलाङ लाग्ने बाटो। रिसोर्टको डाँडामा पुगेपछि ढुंगाको खोचको वेग्लै सुन्दरता। तल पोखरा शहर र फेवाताल। देखिएको माछापुच्छ्रे र अन्य हिमालको रेन्जले उस्तै लोभ्याउने।
सानैदेखि यही दृश्य नियालिरहेका एन्जलले रिसोर्टमा पर्यटक लोभ्याउन साहसिक गन्तव्य थपेका छन्। अर्थात 'स्काइ वाक'।
तल फेवातालको मनोरम दृश्य नियाल्दै स्काइ वाक संचालनमा आएको एक महिना पनि पुगेको छैन। सुरुवातमा २५ लाख लगानीमा निर्माण भएको ‘स्काइ वाक’मा पर्यटकको आर्कषण छोटो समयमै बढेको छ। शुक्रबार र शनिबारको दिन ‘स्काइ वाक’ गर्न पुग्नेको लर्को हुन्छ।
‘स्काइ वाक’ले मेथलाङ डाँडालाई नयाँ पर्यटकिय गन्तव्यको रुपमा स्थापित गर्न लागेको छ। उसो त यसअघि मेथलाङको डाँडामा आन्तरिक पर्यटक नपुगेका होइनन्। अघिल्लो लकडाउनको समयमा संचालनमा आएको टापु रेष्ट्रोमा फोटो खिचाउन पुग्ने पर्यटकको संख्या राम्रो थियो। त्यसबाहेक पोखरा महानगरपालिकाले बनाएको शहिद स्मारक पार्क यही वडा १८ मेथलाङमा पर्छ।
१० वर्ष अगाडी एन्जलका बाबा रुद्रलाई मेथलाङमा रिसोर्ट संचालनमा ल्याउन सहज थिएन। आठ करोड बढी लगानीमा मेथलाङमा रिसोर्ट संचालनमा आउँदा बाटो राम्रो पुगेको थिएन। पानीको उस्तै समस्या थियो। त्यससमय मेथलाङमा अन्य रेष्टुरेन्ट वा होटल थिएनन्। अहिलेपनि रक गार्डन र टापु रेष्टुरेन्ट संचालनमा छन्। थप एक नयाँ होटल निर्माण हुने क्रममा छ।
‘बाटो राम्रो थिएन। पानी सुविधा राम्रो थिएन । गाउँ घरलाई पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न सकिन्छ भन्ने कन्सेप्ट नै थिएन। त्यो समयमा धेरै समस्या थियो। तर, त्यो समयमा भएको समस्या जुध्दै आइयो,’ रुद्रले सुरुका दिनबारे भने।
त्यससमय आफ्ना बाबाले हालेको जगलाई बलियो रुपले स्थापित गर्न लागेका छन् एन्जल अहिले। यसमा उनको रुचि र रुद्रको साथ उत्तिकै छ।
कोरोना महामारी उनका लागि अवसर समेत बन्यो। महामारीको समयमा लेकसाइड र मुख्य बजारका होटल रेष्टुरेन्ट ठप्प बन्दा आन्तरिक पर्यटक घुम्न मेथलाङ पुग्थे। अन्य समय बिदाको बेला मात्र मेथलाङ पुग्ने उनले लकडाउनको समय त्यतै बिताए। उनका लागि सिक्ने र काम गर्ने अवसर बन्यो त्यो समय। बिस्तारै रिसोर्टको जिम्मेवारी सम्हाल्न थाले। रुद्रले पनि छोरा एन्जलको लगन र रुचिका कारण जिम्मेवारी सम्हाल्न दिए। अहिले रक गार्डनको सम्पूर्ण जिम्मेवारी एन्जल आफैं सम्हाल्छन्। व्यवसायीक निर्णय देखि ससाना काम एन्जलकै हातमा छ।
बाबाको व्यवसाय सम्हालेर बसेका एन्जल मात्र १८ वर्ष पुगेका छन्। मर्दरल्याण्डमा कक्षा १२ मा अध्ययनरत एन्जलले मेथलाङलाई पर्यटकिय गन्तव्यको रुपमा स्थापित गर्न विभिन्न योजना बुनेका छन्। अहिले संचालनमा आएको स्काइ वाक ४० फिट लामो र दुईसय फिट उचाईमा बनेको छ। उनले पर्यटकलाई आर्कषण गर्न अन्य योजना ल्याउने तयारी रहेको बताए।
‘यता धेरै सम्भावना छ हिमाल, ताल र पोखरा शहर एकैपटक देखिन्छ। भ्याली भन्दा नजिकको राम्रो ठाँउ हो,’ उनले भने, ‘मेरो योजना धेरै छ यो वर्षमा अब फ्लो हेरेर बिस्तारै गर्छु। आन्तरिक पर्यटकलाई पनि फोकोस गर्छु।
सानै उमेरदेखि व्यवसायमा लागेका उनी मिहिनेतमा विश्वास गर्छन्। भन्छन् ,‘सानैदेखी मिहिनेत गर्नुपर्छ भन्ने लाग्छ। सबै कुरा त एकैपटक मलाई पनि आउँदैन। कहिलेकाही बाबाले बिचबिचमा हेर्दै गर्नुहुन्छ।’
छोराले देखाएको रुचिमा रुद्र खुशी छन्।
भन्छन् ,‘नेपाली छोराछोरीहरु एघार बाह्र सक्ने बित्तिकै विदेश भाग्ने गर्छन्। त्यसबाट उन्मुक्त गर्नको लागि चाहिँ छोराछोरीहरुले नेपालमै बसेर उद्यम पौरख काम र व्यवसाय गर्नुपर्छ। नेपालमा पनि प्रशस्त सम्भावना छन्। सानै उमेरमा पनि मौका पाएको खण्डमा काम गर्नसक्छन्।’