नर्वेमा अमेरिकी सेनाको विमान दुर्घटना भएको छ। नेटोको प्रशिक्षणका क्रममा शुक्रवार दुर्घटनाग्रस्त भएको चार जना सवार विमानमा ‘ठूलो क्षति’ भएको अधिकारीहरूले जनाएका छन्।
‘एमभी-२२बी ओस्प्रे’ विमान अमेरिकी सेनाको एक एकाईको जिम्मामा थियो। ‘विमानमा शुक्रवार उत्तरी नर्वेको नोर्डल्याण्ड काउन्टीमा प्रशिक्षण अभियानको लागि चार जनाको चालक दल थियो,’ नर्वेको सशस्त्र बलले भनेको छ।
विमानलाई बेयर्न नगरपालिकामा दुर्घटनाग्रस्त भएको अवस्थामा रेस्क्यू हेलिकप्टरले भेटेको नोर्डल्याण्डका प्रहरी प्रमुख बेन्ट अर्ने एलर्टसेनले शनिवार संचारमाध्यमलाई जानकारी दिएका छन्। विमानमा ‘ठूलो क्षति’ पुगेको एलर्टसेनले जानकारी दिएका हुन्।
‘अमेरिकीहरू सवार यो एक अमेरिकी विमान हो भन्ने हामीलाई जानकारी छ,’ एलर्टसेनले थपे।
यूएस मरीन कोर्प्सले एक विज्ञप्तिमा उक्त विमान नेटो अभ्यासमा भाग लिइरहेको बेला ‘दुर्घटना’मा परेको बताएको छ।
‘सो विमानले 'एक्सरसाइज कोल्ड रेस्पोन्स २०२२'मा भाग लिइरहेको थियो,’ कोर्प्सले भनेको छ। नेटोको वेबसाइटका अनुसार, ‘कोल्ड रेस्पोन्स २०२२’ एक लामो योजनाबद्ध अभ्यास हो जसमा नेटो सहयोगीहरू र तिनीहरूका साझेदारहरू एक भएर चिसो मौसममा सँगै काम गर्ने क्षमताको परीक्षण हुन्छ।
स्थानीय समय अनुसार शनिवार बिहानसम्म उद्धारकर्ताहरू दुर्घटनास्थलसम्म पुग्न नसकेको नर्वेका पुलिस टास्क लिडर अलेक्ज्याण्डर सोभोल्ड थोफ्टेले एनआरकेलाई बताए।
खराब मौसमका कारण उद्धार टोलीहरू दुर्घटनास्थलसम्म जमिनबाट जानु परेको थियो। उद्धारकर्ताहरूले घटनास्थलमा पुग्न हिउँमा चल्ले सवारी साधनहरु प्रयोग गरेको एलर्टसेनले बताए।