
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले नेकपा (एमाले)ले चुनावमा सजाय पाउनुपर्ने बताएका छन्। संसद् विघटन गरेर संविधानको उलंघन गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचनमा सजाय दिनुपर्ने खनालले बताए।
गुल्मी-काठमाडौं सम्पर्क मञ्चले शनिवार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले संसद् विघटनमा ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सहयोग गरेको भन्दै राष्ट्रपतिको आलोचना गरे।
‘ऐन उल्लंघन हुँदा एउटा नागरिकले जेलमा कैदीको रुपमा जीवन बिताउनुपर्ने तर संविधान उल्लंघन गर्दा पनि केपी ओलीले सजाय नपाउने अवस्था रहन दिनु हुँदैन,’ खनालको भनाइ थियो।
उनले स्थानीय तहको निर्वाचनमा ओलीको बाकसमा जिरो मत हुनुपर्ने बताए।
‘यो आउने निर्वाचनमा केपी ओलीले सबभन्दा ठूलो साजय पाउनुपर्छ। र, उनको बाकसमा जिरो मत आउनु पर्छ हेर्नुस्। तब मात्रै वास्तवमा नेपाली जनताले सही ढंगले संविधानको रक्षा गरेको ठहरिन्छ,’ खनालको भनाइ छ।
खनालले आगामी निर्वाचनमा सत्तारुढ दलहरुबिच खासखास ठाउँमा मात्रै चुनावी तालमेल हुने बताए। आफ्नै खुट्टामा उभिएर निर्वाचनमा विजयी हुने गरी तयारी गर्न पनि पार्टीका नेता तथा कार्यकर्तालाई उनको निर्देशन छ।