फिनल्याण्ड लगातार पाँचौँ पटक विश्वको सबैभन्दा खुसी देश बनेको छ। संयुक्त राष्ट्र संघको वार्षिक सूचकाङ्कअनुसार फिनल्याण्ड यो वर्ष पनि सबैभन्दा खुसी देश बनेको हो। सूचकाङ्कको पुछारमा सबैभन्दा कम खुसी देशको रुपमा अफगानिस्तान छ।
पछिल्लो सूची युक्रेनमा रसियाले आक्रमण गर्नुअघि तयार पारिएको थियो।
बुल्गेरिया, रोमानिया र सर्बियाले स्वास्थ्य क्षेत्रमा पहिला भन्दा सुधार गरेका छन्। शुक्रवार सार्वजनिक भएको सूचीका अनुसार विश्व खुसी तालिकामा लेबनान, भेनेजुएला र अफगानिस्तानको सबैभन्दा धेरै गिरावट आएको छ।
आर्थिक मन्दीको सामना गरिरहेको लेबनान १४६ देशको सूचकाङ्कमा अन्तिमबाट दोस्रोमा छ। लेबनानभन्दा एक स्थानमाथि जिम्बाब्वे छ।
सूचीको पुछारमा रहेको युद्धग्रस्त अफगानिस्तानमा तालिबान गत अगस्टमा सत्तामा फर्किएपछि मानवीय संकट गहिरो रुपमा देखा परेको थियो।
सार्क राष्ट्रमध्ये नेपाल सबैभन्दा माथि ८४ औँ स्थानमा छ। त्यस्तै, बंगलादेश ९४ औँ, पाकिस्तान १२१ औँ, श्रीलंका १२७ औँ र भारत १३६ औँ स्थानमा छन्। यता, चीन ७२ औँ स्थानमा छ।
‘यस सूचकाङ्कले युद्धले धेरै पीडितहरूलाई गरेको भौतिक र अभौतिक क्षतिको स्मरण गरेको गर्छ,’ सह-लेखक जन-इम्मानुएल डे नेभले भने।
१० औँ वर्षमा प्रवेश गरेको उक्त प्रतिवेदन मानिसहरूको आफ्नै खुसीको मूल्याङ्कन तथा आर्थिक र सामाजिक तथ्यांकहरुमा आधारित छ। यसमा तीन वर्षको तथ्यांकको औसतलाई शून्य देखि १० को अन्तरमा खुसीको अंक तय गरिएको हुन्छ।
उत्तरी युरोपेली देशहरूले पुनः सूचकाङ्कको शीर्ष स्थानहरूमा प्रभुत्व जमाउन सफल भएका छन्। डेनमार्क फिनल्याण्डपछि दोस्रो स्थानमा छ भने आइसल्याण्ड, स्वीजरल्याण्ड र नेदरल्याण्ड्स क्रमशः तेस्रो, चौँथो र पाँचौँ स्थानमा छन्।
अमेरिका तीन स्थान माथि उक्लदैँ बेलायत भन्दा एक स्थान अगाडि १६ औँ नम्बरमा छ। फ्रान्स २० औँ स्थानमा उक्लिएको छ, जुन उसको अहिलेसम्मकै उच्च वरीयता हो।