काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्थानीय तह निर्वाचनमा बहुमत सिटमा जित्ने सपना नदेख्न चेतावनी दिएका छन्।
काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले ओलीकै कारण बामपन्थीहरुको दुई तिहाई नजिकको संघीय सरकार ढलेको र प्रदेश सरकार पनि गुमाउनु परेको भन्दै स्थानीय तह निर्वाचनमा पनि ६० प्रतिशत जित हासिल गर्ने ओलीको घमण्डलाई नेपाली जनताले जवाफ दिने बताएका हुन्।
केही दिन अघि ओलीले एमालेले स्थानीय तह निर्वाचनमा ६० प्रतिशत जित हासिल बताएका थिए। ओलीमा महाभारतको दूर्योधनभन्दा कम घमण्ड नरहेको टिप्पणी समेत गरे।
‘आज कोही व्यक्तिको अहंकारले गर्दा संघको सरकार पनि गयो। प्रदेशको सरकार पनि गयो। अझै त्यो व्यक्तिले अब आउने बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा ६० प्रतिशत गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा जित्छु भन्ने घमण्ड गरेको छ,’ उनले भने, 'महाभारतको दुर्योधन र हाम्रो नेपालको राजनेता भनाउँदो केपी ओली दुईजनालाई दाज्यौ भने अहंकारमा कुनै कमी छैन। तपाईहरु मूल्यांकन गर्नुहोस्। जनताले आगामी बैशाख ३० गते जवाफ दिनेवाला छन।’
ओली नेतृत्वकै सरकारले नारायणहिटी संग्राहलय र पशुपतिमा रहेको धर्मशाला कौडीको मूल्यमा बिचौलियालाई बुझाएको दाबी समेत गरे। न्यूज एजेन्सी नेपाल