PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आमाको संघर्षले हुर्किएकी अञ्जिला अब ‘रिल लाइफ’मा बन्दैछिन् गोलकिपर



लक्ष्मी बलायर

आमाको संघर्षले हुर्किएकी अञ्जिला अब ‘रिल लाइफ’मा बन्दैछिन् गोलकिपर

काठमाडौँ: अञ्जिला तुम्बापो सुब्बा जब खेलाडीको बायोपिकमा आधारित फिल्म हेर्थिन उनलाई फुटबल मैदानमा आफूले गरिरहेको संघर्ष याद आउँथ्यो। बलिउड फिल्‍म ‘मेरी कोम’, ‘एमएस धोनी’ लगायत फिल्म हेर्दै गर्दा तिनमा रहेका पात्रमा आफूलाई पाउँथिन्। नेपाली महिला फुटबल टिममा गोलकिपरको भूमिका निर्वाह गरिरहेकी उनी सोच्थिन् : यी फिल्महरूका कथाभित्र म पनि पर्छु। यतिको मेहनेत त मैले पनि गरेकी छु।

पाँचथर जिल्लाको फाक्तेपमा जन्मिएकी अञ्जिलाको बाल्यकालदेखि नै फुटबलमा रुचि थियो। विस्तारै उनले आफ्नो रुचिलाई ‘करियर’मा रुपान्तरित गर्दै गइन्। तर, त्यतिबेला आफूमाथि नै फिल्म बन्छ भन्ने सोच्नु कल्पना बाहिरको कुरा थियो उनका लागि। अहिले २५ वर्ष पुगेकी अञ्जिलाको कथा अब ठूलो पर्दामा आउने पक्का भएको छ। ‘अञ्जिला’ फिल्मको घोषणा हुँदै गर्दाको क्षण उनका लागि अकल्पनीय थियो।

‘म त खेलकुद पृष्ठभूमिबाट आएको व्यक्ति। मैले एक प्रतिशत पनि सोचेको थिइन कि मेरो स्टोरीमा फिल्म बन्छ भनेर,’ उनले भनिन्, ‘कहिलेकाहीँ नसोचेको कुरा पनि पुरा हुँदो रहेछ। निकै खुसी लागिरहेको छ।’

१३ वर्षको उमेरमा राष्ट्रिय खेलकुद प्रतियोगितामा खेल्ने मौका पाएसँगै उनले कहिल्यै फर्किएर हेर्नु परेन। उनी उत्कृष्ट गोलकिपरमा गनिन्छिन्। नेपाली राष्ट्रिय महिला टिमको गोलपोस्ट सम्हालेको पनि उनले पाँच वर्ष भइसकेको छ। तिनै अञ्जिलाले फुटबलर बन्नका लागि गरेको संघर्ष र सफलताको कथालाई अब फिल्ममा आउने भएको हो।

कोरोना संक्रमणका पहिलो लहर नेपालमा बढ्दै थियो। सरकारले संक्रमण नियन्त्रण गर्न भन्दै लकडाउन लगाएको थियो। त्यही नै बेला प्रेमकुमार श्रेष्ठले अञ्जिलामाथि फिल्म बनाउने प्रस्ताव अघि सारेका थिए। विगत १३ वर्षदेखि अञ्जिलाको अभिभावकत्व सम्हाल्दै आएका छन् प्रेमले। शिक्षादेखि उनको हरेक काममा सहयोग गरिरहेका छन् उनी। जसकारण अञ्जिला प्रेम ‘गड फादर’ भन्न रूचाउँछिन्।

सुरूमा आफूमाथि फिल्म बन्न लागेको कुरा अञ्जिलालाई विश्वास लागेन। त्यसबेला उनी आफूलाई फिल्मका पात्रहरुमा मात्र हेर्थिन्। फुटबल सबैथोक थियो उनका लागि। पछि प्रेमको माध्यमबाट निर्देशक मिलन चाम्ससँग अञ्जिलाले धेरै पटक फिल्मका बारेमा कुरा गरिन्। त्यसपछि नेपालकै उत्कृष्ट गोलकिपर कहलिएकी अञ्जिलाको बायोपिकमा फिल्म निर्माण पक्का भएको थियो।

बायोपिकमा धेरै जसो खेलाडीको भूमिका अन्य कलाकारले निर्वाह गर्ने गर्छन्। तर, अञ्जिलाको कथामा भने अरु कोही होइन अञ्जिलाले नै अभिनय गर्दैछिन्। अर्थात् अब अञ्जिला ‘रियल’मा मात्रै होइन ‘रिल’मा पनि गोलकिपरको भूमिकामा देखिनेछिन्।

फिल्‍म निर्माण पक्षको दाबी छ : नेपालमा खेलकुद क्षेत्रका व्यक्तिको बायोपिकमा यसअघि फिल्म बनेको छैन। त्यसैले उनीहरुले फिल्मलाई ‘ऐतिहासिक’ बनाउने सोचे। अनि अञ्जिलालाई नै मुख्य भूमिकामा अभिनय गर्न अफर गरियो। अहिलेसम्म गोलपोस्ट सम्हाल्दै आएकी अञ्जिला अहिले आफ्नो कथामा आफैँले अभिनय गर्दा पात्रलाई न्याय मिल्नेमा ढुक्क छिन्।

‘गोलकिपरको काम रिस्की हुन्छ। डाइभ हान्नुपर्छ। जो अभिनेत्रीहरूलाई गर्न गाह्रो र जोखिम हुन्छ भन्ने कुरा भयो। त्यो कामहरू मैले गर्न सक्छु जस्तो लाग्छ। म रियलमै गोलकिपर हुँ,’ उनी विश्वस्त सुनिन्छिन्।

आफ्नो ‘रियल लाइफ’ र आफ्नै नाममा फिल्म बन्नुलाई उनी ठूलो उपलब्धिको रूपमा लिन्छिन्।

उनीभन्दा खुसी छिन् उनकी आमा राधिका राई।

‘मैले आमालाई मेरो जीवनमा फिल्म बन्ने कुरा भनेकी थिएँ। उहाँ निकै खुसी हुनु भएको थियो। उहाँले भोगेको पीडा महसुस गर्दै उहाँको खुसीको लागि भए पनि फिल्म खेल्ने निधो गरें,’ अञ्जिलाले भनिन्।

बुबाले छोडेर गएपछि आमाले नै गरेको संघर्षका कारण अहिले आफ्‍नो नाम-काम भएको अञ्जिला गर्वका साथ सुनाउँछिन्। आमा र दाइले गरेका संघर्ष सम्झँदा उनलाई जति दु:ख लाग्छ त्यति नै अहिले उनीहरुलाई गौरवान्वित बनाउन पाउँदा खुसी छिन् उनी।

बुबाले छोडेपछि आफूले पनि केही न केही गरेर देखाउँछु भन्ने इख पालेकी थिइन् उनले। आज त्यही इख र मैदानमा मेहनेतका कारण उनी सफल भएको उनले बताइन्।

अञ्जिलालाई मनपर्ने नायक हुन् दयाहाङ राई। संयोग भन्नुपर्छ अब अञ्जिलाले उनी दयाहाङसँग ठूलो पर्दामा काम गर्दैछिन्। दयासँगै फिल्ममा देखिन पाउँदा निकै उत्साहित छिन् उनी। मैदानमा आफ्नो कौशल प्रदर्शन गरिसकेकी उनी अब अभिनयतिर लाग्दैछिन्। त्यसैले ‘रिहर्सल’ का लागि थिएटरसम्म पुग्न थालेकी छिन्।

फिल्ममार्फत् खेल क्षेत्रका व्यक्तिहरूका संघर्ष र सफलताका कथा देखाउँदा भावी पुस्तालाई प्रेरणा मिल्ने उनको तर्क छ। आफ्नै बायोपिकमा अभिनय गर्ने तरखरमा रहेकी उनी फुटबल नै आफ्नो ‘करियर’ भएको बताउँछन्।  

‘हिरोइन बनेर भने म कहिलै खेल्दिनँ। मेरो पहिलो प्राथमिकता भनेको खेल नै हो। फुटबलले नै मलाई चिनाएको हो’ उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell