PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

ओलीका १५ ‘रुखो बोली’ : जुँगामा ताउ लाउनेदेखि अदालतमा गोरु ब्याउनेसम्म



प्रकाश भण्डारी

ओलीका १५ ‘रुखो बोली’ : जुँगामा ताउ लाउनेदेखि अदालतमा गोरु ब्याउनेसम्म

काठमाडौँ: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन नजिकिएसँगै सत्ता गठबन्धनमाथिको प्रहारलाई तीब्र पारेका छन्। ओली अदालत, सरकार, निर्वाचन आयोग र सभामुख अग्नि सापकोटा प्रति बढी आक्रामक देखिन्छन्।

तुलनात्मक रुपमा नेपाली कांग्रेसप्रति कम आक्रामक ओली पछिल्लो समय प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आलोचनामा उत्रिएका छन्। मिलिनिय च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई गठबन्धन भत्काउने 'कार्ड'का रुपमा प्रयोग गर्ने प्रयास गरेका ओलीले सफलता भने पाएनन्। चुनावसम्मै गठबन्धन टिक्ने संकेत देखिएपछि ओलीको पहिलो निशानामा गठबन्धन परेको हो। ओलीको पछिल्लो दुई हप्ताका अभिव्यक्ति केलाउँदा मात्रै आक्रोशको 'ग्राफ' बढेको थाहा पाउन सकिन्छ।

१. 'स्यालहरुको मोर्चा'

शनिबार एमालेको सम्पर्क कमिटीले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सत्तारुढ गठबन्धनलाई 'स्यालहरुको मोर्चा'को संज्ञा दिए। स्यालहरुको मोर्चा बनाएर हात्तीको सिकार गर्न नसकिने भन्दै गठबन्धन आफ्ना अघि चुनावमा नटिक्ने ओलीले दाबी गरे।

'यो अदालतले बनाएको गठबन्धन हो। यसलाई जनताको आँगनमा लगेर पछार्नुपर्छ,' उनले भने, 'यस्तो तयारी गरौँ कि एमालेको तयारी देखेर अहिलेबाटै उनीहरुलाई निद्रा लाग्न छाडोस्। अहिलेदेखि खान रुच्न छाडोस्।'

उनले गठबन्धनलाई 'ठेगान लगाउन' आफ्नो स्वास्थ्य ठिक भएको समेत बताए। दुई पटक मिर्गौला फेरेपछि आफू झन् स्वस्थ भएको ओलीको भनाइ थियो।

तत्कालीन नेकपाको केन्द्रीय कमिटीको बैठकमा माधवकुमार नेपाल, झलनाथ खनाल, प्रचण्ड, ओली लगायतका नेता


२. प्रचण्ड भरिदिएको भाँडो, नेपाल जुँगामा ताउ लाउने

ओलीले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) प्रति पनि चर्को आक्रोश व्यक्त गर्ने गरेका छन्। एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी अवैधानिक सम्बन्धबाट जन्मिएको ओलीले बताउने गरेका छन्। एमालेले एकीकृत समाजवादीलाई मान्यता नै नदिएको ओलीले बताउँदै आएका छन्।

उनले शनिबारको कार्यक्रममा पनि माधव नेपाललाई आफूले जुँगा टाँसिदिएँ भन्न भ्याए। ओलीले एकीकृत समाजवादी पार्टीको रुपमा विकास नै नहुने दाबी समेत गरे।

भने,'गठबन्धनमा भएको एउटा पार्टी छ। त्यो बन्दै बन्दैन। त्यो ध्वस्त हुन्छ। हामीले टाँसिदिएको जुँगामा ताउ लाउँछ।'

३. 'खान जन्मिएकाहरु खाउ'

ओलीले सत्ता गठबन्धनका नेताहरु खानमात्रै जन्मिएको आरोप लगाएका छन्। ओलीले गठबन्धनले यसरी खाने दिन धेरै नभएको समेत बताइसकेका छन्।

पार्टी फेर्न समय नलाग्ने भन्दै ओलीले प्रचण्ड-नेपालसँग कुनै विचार नै नभएको आरोप लगाए। भने,'विरोधी विचाराहरु उनीहरुसँग न केही विचार छ न केही काम छ। खान जन्मिएकाहरु खाउन न दुई चार दिन छ। कता खान पाइन्छ? के खान पाइन्छ? त्यता मात्रै ध्यान छ। एउटा डालोबाट अर्को डालोमा एउटा पिँढीबाट अर्को पिँढीमा हाम फाल्न यिनीहरुलाई आइतबारै लाग्दैन।'

‌ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेसँग सहकार्य हुनसक्ने भन्दै दिएको अभिव्यक्तिको समेत खण्डन गरेका छन्। केही दिनअघि प्रचण्डले नेपाली कांग्रेसले स्थानीय तहमा साथ नदिए विकल्प सोच्न सकिने बताएका थिए।

४. कांग्रेसलाई १३ सिटमा झारिदिन्छौँ

आफू नेतृत्वको सरकार असार २९ मा ढलेयता कांग्रेससँग कम कम्युनिस्ट घटक दलका नेतासँग बढी चिढिएका ओली चुनाव नजिकिएसँगै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि आक्रोशित बनेका छन्।

शनिबार सम्पर्क कमिटीको कार्यक्रममा ओलीले कांग्रेसलाई अबको चुनावमा २३ बाट १३ मा झारिदिने बताएका हुन्। 'कांग्रेस पोरपरारै २३ मा झरेको हैन। अब १३ मा झार्नुपर्छ,' ओलीले भने।

उनले नेपाली कांग्रेसको पूर्ववर्ती सरकारको भण्डाफोर गर्ने चुनावी अभियानको समेत आलोचना गरेका थिए।

५. देउवालाई पनि सूर्यमा भोट हाल्न उर्दी

ओली सत्तारुढ पार्टीमाथि कतिसम्म खनिन थालेका छन् भने उनले शनिबार कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत एमालेलाई भोट हाल्न आग्रह गरे। देउवालाई 'जेष्ठ नागरिक' भन्दै ओलीले देउवालाई  ४ हजार भत्ता नचाहिने भएकाले मात्रै कांग्रेसमा बसेकोसम्म भन्न भ्याए ओलीले।

'शेरबहादुर देउवा आफै कांग्रेसमा किन छन् भन्दा बुढा भएर पनि। उनलाई ४००० भत्ता के गर्न छँदैछ। त्यसकारण छन्। नत्र भने शेरबहादुर देउवा पनि लौरो टेकेर एमालेमा आउँथे,' ओलीले भने, 'शेरबहादुरजीलाई म भन्न चाहन्छु कमसेकम जेष्ठ नागरिक हो। तपाईँ पनि सूर्य चिह्नमा भोट हाल्नुस् अरुले नदेख्ने गरी।'

फागुन २ गते बसेको एमालेको संसदीय दलको बैठकमा ओली


६. प्रचण्ड नेपाल लाज पचाएका

स्थानीय तहको चुनावमा अरु पार्टीसँग मिल्न सकिने भए पनि कोसँग मिल्ने नमिल्ने भन्नेमा ध्यान दिनुपर्ने ओलीको भनाइ छ। उनले प्रचण्ड-नेपाल लाज पचाएको नेता भएको आरोप लगाउँदै उनीहरुसँग भने मिल्न नसकिने प्रतिक्रिया दिइरहेक छन्।

आफूलाई हटाइपाउँ भनेर विरोधी अदालत र राष्ट्रपतिको कार्यालय धाएकोमा वकिलहरुलाई समेत अनौठौँ लागेको ओलीको दाबी छ।

'हामी बृहत् राष्ट्रिय हितलाई कायम राखेर काम गर्छौं। तपाइहरुले आन्दोलन संकटमा परेका बेलामा मैले पार्टी एकता गरौं भने, पार्टी फुटाएर राष्ट्रपति कहाँ प्रधानमन्त्रीलाई हटाइपाउँ भनेर गए। कस्तो लाज नभएको?'ओलीको भनाइ थियो।

७. कर्‍याएक कुरुक पारिदिने

ओलीले सत्ता गठबन्धनमा रहेको कुनै पनि दल आफ्नो प्रतिस्पर्धी नभएको दाबी गरिरहेका छन्। उनले पाँचवटै दल मिलेर आए पनि एमालेलाई फरक नपर्ने उद्घोष गरे।

एक्लै चुनावमा आए कर्‍याक कुरुक नै बनाइदिने चेतावनी ओलीको छ। 'हामीले राम्रो काम गरेका छौं। सुखी नेपाल समृद्ध नेपालको नारा लगायतका धेरै योजना अघि बढाएका छौं। कांग्रेस, माओवादी केन्द्र हाम्रो प्रतिस्पर्धी नै होइनन्। एमाले बलियो रहेछ, एक्लै जान हुँदैन भनिरहेका छन्। एक्ला एक्लै आए त कर्‍याक कुरुक हुन्छन्,' ओलीले चैत १ गते अखिल नेपाल महिला संघ (अनेमसंघ)को काठमाडौंमा आयोजित कार्यक्रममा भनेका थिए।

केही समय यता पार्टी प्रवेशको लागि देश दौडाहमा रहेका ओलीले ६०-७० प्रतिशत सिट एमालेले जित्ने दाबी गरिरहेका छन्। एकातिर सत्ता गठबन्धन र अर्कातिर एमाले विभाजनको असर गाउँसम्मै परेको भए पनि ओलीले त्यसलाई भने नकार्ने गरेका छन्।

८. अदालतमा गोरु ब्यायो ५ बाच्छा पायो

ओलीले २०७८ असार २८ गते देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतको फैसलालाई 'गोरु ब्याएको' भन्दै व्यंग्य गर्ने गरेका छन्।फागुन २७ गते प्रेस चौतारिको पोखरामा सम्पन्न भएको महाधिवेशनमा ओलीले अदालतको फैसलाअघि न्यायाधीशहरुलाई अमेरिकाबाट इमेल आएको दाबी गरेका थिए। 

ओलीले पछिल्लो समय अदालत र निर्वाचन आयोगमाथिको प्रहारलाई पनि बढाएका छन्। उनले केही दिन अघि राज्यका सबै निकाय एमालेविरुद्ध लागेको आरोप लगाएका थिए।

'संसदले सरकार बनाउने र भत्काउने गर्छ। संसद् र जनप्रतिनिधिको काम हो। गोरु ब्याउँदैन भन्थे, सर्वोच्च अदालतमा गोरु ब्यायो। अहिले गोरु ब्यायो मात्र होइन, पाँचवटा बाच्छा पायो,'ओलीको अदालको फैसलामाथिको टिप्पणी थियो।

९.क्या मन्त्री?

देउवा सरकारका मन्त्रीमाथि पनि ओली खनिन थालेका छन्। मन्त्रीको मिडिया एक्सपोजर र तिनमा आउने अभिव्यक्तिलाई लिएर ओलीले अहंकार बढेको भन्दै मन्त्रीहरु कुस्ती खेल्न आएको आरोप लगाइरहेका छन्।

फागुन २८ गते निजामती कर्मचारी संगठनको ११औँ राष्ट्रिय अधिवेशनको उद्घाटनमा ओलीले एकीकृत समाजवादीका मन्त्रीहरुलाई लक्षित गर्दै भने, 'कहिले कहिले टेलिभिजनमा मन्त्रीका भाषण देख्दा अचम्म लाग्दैन? हुम् हुम् हुम् गर्छन्। क्या मन्त्री? कहाँबाट आयो यस्तो मन्त्री? कसरी आयो? कस्तो कस्तो मान्छे? अखडामा कुस्ती खेल्न पस्दैछ कि? रेस्लिङको रिङमा पस्दैछ कि? साधारण मान्छे पनि अचम्म मान्छन्। त्यो के हो भने उन्माद हो।'

१०. सुगाको जतिको पनि पढ्न नजान्ने

ओलीले आफ्नै पूर्वसहकर्मी नेता प्रचण्ड र नेपालमाथि कहाँसम्मको रुखो बोली बोल्न थालेका छन् भने 'सुगाको जतिको पनि पढ्न नजान्ने' भन्दै आक्रोश व्यक्त गरेका छन्।

अनेमसंघको कार्यक्रममा ओलीले फागुन २४ गते उनीहरुमाथि सुखी नेपाली समृद्ध नेपाल पढ्न पनि नजानेको आरोप लगाए। भने,'यी सुगा जत्तिको पनि छैनन्। सुगालाई पढायो भने त भन्न सक्छ। भन्न सक्दैनन्, यिनीहरुलाई टाउको दुख्छ। समृद्ध जीवन बिताए भने यिनीहरुलाई पिर पर्छ।'

११. झाडीमा जन्मिएको सरकार

देउवा सरकार अवैधानिक सम्पर्कबाट जन्मिएको भन्दै ओलीले विघटन गर्नुपर्ने बताएका थिए। फागुन १७ गते एमसीसी सम्बन्धी धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा ओलीले देउवा सरकार झाडीमा जन्मिएको टिप्पणी गरेका थिए।

'जन्मिनुपर्ने ठाँउमा नजन्मेर झाडीमा जन्मिएको सरकार तत्काल विघटन गरिनु पर्छ,'ओलीले भने, 'अनि तत्काल जनादेशमा जानुपर्छ।' 

आफ्नो ध्यान सरकार ढाल्नेमा नभएको ओलीले बताउँदै आएका छन्। एमालेले चाहेमा चुड्कीका भरमा सरकार ढल्ने ओलीको दाबी छ। असार ३० मा बालुवाटारबाट बाहिरिएर निजी निवास बालकोट पुगेपछि ओलीले अब चुनावपछि झ्यालबाट नभएर सिंहदरवारको मुल गेटबाट सत्तामा फर्किने उद्घोष गरेका थिए।

१२. बालुवामा राखेको नक्कली मुला

ओलीले देउवा सरकारको आलोचना गर्न नयाँ नयाँ शब्दावलीको समेत प्रयोग गरिरहेका छन्। सरकारलाई उनले बालुवामा राखिएको नक्कली मुलाको संज्ञा दिएका थिए।

फागुन २८ मा एमाले निकट कर्मचारी संगठनको कार्यक्रममा ओलीले भने,'यो केही होइन, मुलाको पनि अलीकती सानोतिनो भए पनि जरा हुन्छ, यसको त, जरा न फरा पाँच जनाले नियुक्त गरेको छ। जरा न फराको सरकार। केही पनि छैन, टपक्क टिप्यो भने उखेलिन्छ। बालुवामा लगेर राखेको नक्कली मुला यसो एकछिन बालुवामा राखेजस्तो हो यो।'

एमालेको सचिवालय बैठक


१३. मयाले मलाई पीर दियो....

ओलीले आफू विरोधीलाई प्रहार गर्न चर्को भाषण मात्रै गर्दैनन् उखान टुक्कादेखि विपक्षीलाई प्रहार हुने खालका गीतहरुको समेत सहारा लिन्छन्।

पशुपति शर्माको 'लुटन सके लुट'कान्छामा 'डिफेन्सिभ' देखिएका ओली प्रकाश सपुतको 'पीर' गीतमा भने 'पोजिटिभ' देखिए। उक्त गीतमा माओवादी सशस्त्र द्वन्द्व र त्यसपछि लडाकुको कथा समेटिएको छ। त्यही गीतलाई लिएर उनले माओवादी केन्द्रको आलोचना गरेका हुन्।

'अहिले आएको छ नि तिम्रो मायाले मलाई पीर दियो। बढो प्रचलित छ नि कुनै पार्टीलाई त बढो उधुम भएको छ। अँध्यारोमै बस्नु छ भने बत्ती बाल्नै परेन,'ओलीको टिप्पणी थियो।

ओली कार्यकालमा सार्वजनिक लुट्न सके लुट भन्ने गीत भने जबर्जस्ती ओली पक्षले हटाउन लगाएको थियो। प्रचण्डले भने सपुतको गीतमा धेरै आलोचना गरिरहनु नपर्ने भन्दै बहसलाई मत्थर पारिसकेका छन्।

१४. आँखा नदेख्ने जनताले देखुन भनेर हरियो मतपत्र राख्ने?

पछिल्लो समय एमाले अध्यक्ष ओली निर्वाचन आयोगप्रति पनि रुष्ट छन्। आयोगले स्थनाीय तह निर्वाचनमा मतपत्रको रंग हरियो बनाउने भने पछि उनी झस्किएका छन्। हरियो रंग कांग्रेसको रुख चिह्नबाट प्रभावित भएको उनको बुइाइ छ। त्यसैले आयोगका पदाधिकारीप्रति पनि आक्रोश व्यक्त गरेका छन् ओलीले।

निर्वाचन आयोगले मतपत्रमा चुनाव चिह्न हरियो रंगको बनाएको भन्दै ओ‌लीले अनेमसंघको फागुन २४ को कार्यक्रममा तत्काल निर्णय सच्याउन आग्रह गरेका थिए।

'निर्वाचन आयोगले मत पत्रमा हरियो चिह्न राख्‍ने रे? के कारणले राख्‍ने मैले बुझेको छैन। बुझौँला। के हिसाबले राख्ने धार्मिक हिसाबले राख्‍ने? कसैको हरियो छ, त्यसकारण राख्‍ने? आँखा नदेख्‍ने जनताले देखुन् भनेर राख्‍ने हो? निर्वाचन आयोगले त्रुटि गरेको हो भने सच्याउनुपर्छ,'ओलीले भनेका थिए।

१५. अग्नि सापकोटा 'संसदीय प्रणालीको कलंक'

राजनीतिक दलका नेता, सरकार, अदालत र निर्वाचन आयोगमात्रै होइन ओलीको निशानामा सभामुख अग्नि सापकोटा पनि पर्छन्। माधव नेपालसहितका सांसदलाई एमालेले कारवाही गरेको भए पनि सापकोटाले सूचना टाँस गर्न नमानेको भन्दै एमालेले संसदको गएको दुई अधिवेशनलाई अवरोध गरेको थियो। 

ओलीले सापकोटाको पटकपटक विरोध गर्दै आएका छन्। कात्तिक १३ गते एमालेको सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा ओलीले सापकोटा संसदीय प्रणालिको कलंक भएको आरोप लगाएका थिए। 'अग्नि सापकोटाजस्तो मान्छे संसदीय प्रणालीकै कलंक हो। फेरि निर्वाचित भएर संसदमा पाइला टेक्न पाउनुहुन्छ? उनी कलंक हुन् संसदीय व्यवस्थाका। सभामुखको गरिमाको त कुरै छोडौं,'ओलीले भनेका थिए।

त्यसपछि पनि सापकोटामाथि उनको प्रहार रोकिएन। एमसीसीबारेको छलफलमा पनि सत्तारुढ दलसँग सहकार्य गर्न उनले सापकोटाको राजीनामा शर्तका रुपमा तेर्स्याएका थिए।

ओली आफूलाई बलियो देखाउन र विरोधीलाई कमजोर देखाउन तिखो टिप्पणी गर्छन्। उनी सरकारमा हुँदा होस् वा बाहिर हुँदा उखान टुक्कादेखि समसामयिक विषयलाई जोडर विरोधीमाथि निशाना लगाउने नेतामध्येमा पर्छन्। विरोधीको आलोचना गर्ने शैलीलाई चुनावको मुखमा झन् तिखार्ने पक्षमा छन् उनी। जसलाई वाह् भन्दै ताली पडकाउने र आलोचना गरेर गाली गर्ने पनि उत्तिकै छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell