PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक, १० टोलीले प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक, १० टोलीले प्रतिस्पर्धा गर्ने

कैलाली: कैलालीको धनगढीमा सोमबारदेखि सुरु हुने ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को ट्रफी र खेल तालिका सार्वजनिक गरिएको छ। आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले धनगढीमा पत्रकार सम्मेलन गर्दै ट्रफी र खेल तालिका सार्वजनिक गरेको हो।

परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहका अनुसार १२ गतेसम्म सञ्चालन हुने राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन खेल लुम्बिनी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मीबिच हुनेछ। सिंहले प्रतियोगिताको तयारी पनि पूरा भएको बताए प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय गरी १० टोलीको सहभागिता रहने छ। प्रतियोगिताको विजेताले नगद चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार तथा उदयमान खेलाडी, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्वर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजारसहित पुरस्कृत गरिने सिंहले बताए। प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद एक हजार पाँच सय नगदसहित पुरस्कृत गरिनेछ।

को–को परे सुदूरपश्चिमको टिममा?

प्रदेश खेलकुद परिषद्ले एक महिनादेखि प्रतियोगितामा सहभागिता जनाउने सुदूरपश्चिम प्रदेशको टिमलाई बन्द प्रशिक्षणमा राखेको छ। यसअघि भएको प्रदेशस्तरीय भलिबल प्रतियोगिताका उत्कृष्ट खेलाडीको क्याम्प चलिरहेको छ। प्रदेशको कप्तानको जिम्मेवारी महेश खत्रीले पाएका छन्। टिममा डम्मर भट्टराई, सन्तोष महता, प्रशान्त शाहु, निलम सिंह, दिनेश चन्द, सन्तोष खत्री, रोशन चन्द, सुरेन्द्र खड्का, सुरेन्द्र बिक, सुरेन्द्र भाट, विशाल भण्डारी, बलदेव धामी र वरुण ठगुन्ना परेका छन्। टिम प्रशिक्षकमा हिकमतराज गिरी र व्यवस्थापकमा दिनेश गिरी रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell