PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

भारतबाट किन्ने बिजुलीको दाम युनिटकै ३५ रुपैयाँ पुग्यो, धान्न सक्ला विद्युत प्राधिकरणले?



दिनेश खड्का

भारतबाट किन्ने बिजुलीको दाम युनिटकै ३५ रुपैयाँ पुग्यो, धान्न सक्ला विद्युत प्राधिकरणले?

काठमाडौं: नेपाल विद्युत प्राधिकरणले स्थानीय माग पूरा गर्नका लागि भारतबाट ल्याइरहेको बिजुलीको दाम युनिटकै ३५ रुपैयाँसम्म पुगेको छ।

पछिल्ला केही दिनयता आयात गरिरहेको बिजुलीको प्रतियुनिट दर यतिसम्म पुगेको प्राधिकरणका प्रवक्ता तथा उपकार्यकारी निर्देशक सुरेश बहादुर भट्टराईले बताएका हुन्। यो दर नेपालले पिक आवरमा खरिद गरिरहेको बिजुलीका लागि परेको हो।

यो हिउँदमा विद्युत प्राधिकरणले भारतबाट कम्तिमा ६ हजार मेगावाट आवरदेखि १२ हजार मेगावाट आवरसम्म बिजुली किनेको तथ्यांक छ। एक हजार मेगावाट आवर भनेको १० लाख किलोवाट आवर बिजुली हो। यस हिसाबले प्राधिकरणले यसपालि सुख्खा मौसममा एकैदिन भारतबाट एक करोड २० लाख युनिटसम्म बिजुली किनेको छ।

भारतबाट पिक आवरमा ल्याउने बिजुलीमध्ये कम्तिमा पनि एक तिहाईदेखि ५० प्रतिशत हाराहारीसम्म प्राधिकरणले महँगो दरमा किनिरहनुपरेको भट्टराईको भनाइ छ। यसलाई आधार मान्ने हो भने १२ हजार मेगावाट आवर बिजुली आयात गर्दा करिब ४ हजार मेगावाट आवरदेखि ६ हजार मेगावाट आवरसम्मका लागि चर्को भाउ तिर्नुपरेको देखिन्छ। यो भनेको अहिलेको अधिकतम प्रतियुनिट दर ३५ रुपैयाँसम्म हो। 

६ हजार मेगावाट आवरमा ६० लाख किलोवाट आवर हुन्छ। एक किलोवाट आवरको ३५ रुपैयाँ पर्दा दिनमै प्राधिकरणले भारतलाई २१ करोड रुपैयाँसम्म तिर्नुपर्ने हिसाब देखिन्छ। यसलाई न्यूनतम पनि एक तिहाई अर्थात् ३३ प्रतिशत मात्र महँगो दर परेको मान्दा पनि ४० लाख किलोवाट आवर (१२ हजार मेगावाट आवरको ३३%) दिनमा आयात गर्दा त्यसका लागि १४ करोड रुपैयाँ बाहिरिने देखिन्छ।

केही दिनयता भने बिजुलीको माग तथा खपत घटेको प्राधिकरणको भनाइ छ। गर्मी बढ्न थालेसँगै बिजुलीको सर्वाधिक खपत हुने काठमाडौं उपत्यकामा एसी/हिटर लगायतका बिजुली धेरै खपत गर्ने उपकरणहरुको प्रयोग घटेकाले बिजुलीको खपत पनि केही कम भएको जनाइएको छ।यससँगै प्राधिकरणले भारतबाट आयात गर्ने बिजुलीको परिमाण पनि २-३ दिनयता घटाएको हो। 

यद्यपि, अझै पनि यो दैनिक ६ हजार मेगावाट आवरभन्दा माथि नै छ। चैत ४ मा नेपालले भारतबाट ६ हजार ६०४ मेगावाट आवर बिजुली आयात गरेको तथ्यांक छ। यसमध्ये ३३ प्रतिशत मात्रै ३५ रुपैयाँमा किन्नु परेको मान्ने हो भने पनि शुक्रबार एक दिनको मात्र बिजुली आयातका लागि प्राधिकरणले करिब ७ करोड ६३ लाख रुपैयाँ तिर्नुपरेको छ। 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि शनिवार नयाँ खिम्ति सबस्टेशन उद्घाटन कार्यक्रमका दौरान बोल्दै आयातित बिजुलीको मूल्य युनिटको ३२ रुपैयाँसम्म पुगेको बताएका थिए। माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमार्फत उपभोक्तासम्म पुर्‍याउनका लागि महत्त्वपूर्ण रहेको नयाँ खिम्ती सबस्टेशन संचालनमा आएपछि महँगो बिजुली किन्नुपर्ने बाध्यता कम हुने सन्दर्भसँग जोड्दै घिसिङले युनिटको ३२ रुपैयाँसम्म तिरेर भारतबाट बिजुली किनिरहेको बताएका हुन्। 

तर नेपालले भारतसँग इन्डियन इलेक्ट्रिसिटी एक्सचेन्ज (आईईएक्स) मार्फत् रियल टाइममा दर बिड गरेर बिजुली किनिरहेकाले यो मूल्यमा उतारचढाव हुँदा अहिले ताजा खरिद दर ३५ रुपैयाँसम्म पुगेको प्राधिकरणका प्रवक्ता भट्टराईले बताएका हुन्। 

नेपालले अहिले भारतका ९६ वटा पावर ब्लकहरुमार्फत बिजुली खरिद-बिक्री कारोबार गरिरहेको छ। यी पावर ब्लबबाट किनेको बिजुलीको न्यूनतम दर नै अहिले भारु ४ रुपैयाँ ३० पैसा (नेरु ६.८८) पुगेको प्राधिकरणको भनाइ छ।

प्राधिकरणका अनुसार, भारतबाट ल्याउने कुल बिजुलीमध्ये करिब ६६ प्रतिशत आईईएक्समार्फत नै किन्ने गरिएको छ। प्राधिकरण स्रोत र अन्य जानकारहरुको भनाइमा आईईएक्सबाट आउने बिजुली नै महँगो पर्ने गरेको छ। यसकारण अहिले असाध्यै चर्को मूल्यमा बिजुली किन्नुपर्ने अवस्थाले प्राधिकरणको वित्तीय सन्तुलन बिग्रने सम्भावना छ। 

किन पुग्यो युनिटकै ३५ रुपैयाँसम्म?

नेपालले भारतबाट किन्ने बिजुलीको दाम आकाशिनुको साइनो रुस-युक्रेनबीच चलिरहेको युद्धसम्म जोडिन्छ। 

युद्धका कारण  अन्तरराष्ट्रिय बजारमा कोइलाको भाउ आकासिएको छ। भारतमा उत्पादन तथा आपूर्ति हुने विद्युतको ठूलो हिस्सा कोइलाबाट चल्ने थर्मल प्लाटको बिजुलीले पूरा गर्दै आएको छ। कोइलाको मूल्य वृद्धिले भारतमा विद्युत उत‍्पादन नै प्रभावित हुने गरेको छ। केही महिनाअघि मात्र पनि कोइलाको मूल्यवृद्धिको असर थर्मल प्लान्ट संचालनमा पर्दा भारतका विभिन्न सहरले विद्‍युत अभाव भोगेका थिए।

यसकारण अहिले पनि महँगिएको कोइलाबाट उत्पादित बिजुली समेत भारतका ९६ पावर ब्लकमध्येका विभिन्न कम्पनीमार्फत नेपालले किन्नुपर्दा त्यसको दाम ३५ रुपैयाँ युनिटसम्म पुगेको हो। यही अवस्था रहे युनिटको ५० रुपैयाँसम्म तिर्नुपर्ने दिन टाढा नरहेको ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधान बताउँछन्। 

'नेपाली आईपीपीहरुको बिजुली खरिदका लागि समयमै पीपीए गरेको भए अहिले हामीले भारतलाई ३५ रुपैयाँमा बिजुली बेच्ने अवस्था आएको हुन्थ्यो। तर बिडम्बना, उल्टो अवस्था भोग्नु परेको छ,' उनले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell