PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

स्थानीय निर्वाचनमा गठबन्धनको सम्भावनालाई नकार्न सकिँदैन : डा. प्रकाशशरण महत



पहिलोपोस्ट

स्थानीय निर्वाचनमा गठबन्धनको सम्भावनालाई नकार्न सकिँदैन : डा. प्रकाशशरण महत

काठमाडौं: नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी स्थानीय निर्वाचनमा गठबन्धनको संभावनालाई नकार्न नसकिने बताएका छन्।

सल्यानको एक कार्यक्रममा सहभागी हुने क्रममा शनिवार दिउँसो नेपालगञ्जमा पुगेका प्रवक्ता डा. महतले नेपाल प्रेस युनियन बाँकेद्धारा आयोजित पत्रकार सम्मेलनमा 'विनविन' को अवस्था आए गठबन्धन हुनसक्ने बताए।

'गठबन्धनको संभावनलाई नर्कान सकिदैन', प्रवक्ता डा.महतले भने, 'यस विषयमा पार्टीको केन्द्रीय समितिमा छलफल हुन्छ। गठबन्धन गर्दा बढी सिट जितिन्छ भन्नेमा सहमति बन्यो र इच्छुक दलहरुको उपयुक्त प्रस्ताव आयो भने गठबन्धन हुन्छ। प्रस्ताव कस्तो आउछ त्यसमा भरपर्दछ। विनविन पोजिसनमा हुन सक्छ।'

उनले हरेक पार्टीको लक्ष्य निर्वाचनमा सकेसम्म बढी सिट जित्ने भएकोले गठबन्धन गर्दा धेरै सिट जित्ने देखियो भने गठबन्धन हुने र त्यसको मोडेल केन्द्रले निर्धारण गर्ने पनि बताउनुभयो।

उनले अहिले गठबन्धन गर्न हुन्छ हुँदैन भन्ने बहसमा नअल्झन कार्यकर्तालाई सुझाए।

'गठबन्धनको बारेमा अहिल्यै जनतालाई भन्न जरुरी छैन। हामी सत्यमा, कानूनमा, नागरिक स्वतन्त्रतामा, मानव अधिकारमा, यथार्थमा विश्वास गर्ने, पारदर्शितामा विश्वास गर्ने पार्टी हो। हामीलाई विश्वास गर्नुस् भन्ने हो। कांग्रेसका प्रति गुनासो भए, विकासका समस्या भए भन्नुस् भन्ने हो।' उनले भने।

उनले आगामी स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उठाइने उम्मेदवारहरुको टुंगो चैत्र महिनाभित्रै लाग्ने बताए। 'यसपटक विगतमा भए जस्तो उम्मेवादी दिने अन्तिमदिनसम्म को उठ्ने हो भन्ने टुंगो नलाग्ने स्थिति रहने छैन्। निर्णय गर्ने प्रकृया पनि विभिन्न तहमा विकेन्द्रित छ। चैत्र महिनाभित्रै उम्मेदवारको टुंगो लगाउने कोशिस गछौं।', प्रवक्ता महतले भने।

एमसीसीबारे झुटा कुरा फैलाइयो

प्रवक्ता डा. महतले अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेञ्ज कर्पोरेशनबाट नेपालको सडक विस्तार र विद्युत प्रशारण लाईन निर्माणका लागि प्राप्त ५० करोड अमेरिकी डलर (झण्डै ६० अर्ब नेपाली रुपया भन्दमाथि)को अनुदान सहयोग लने संबन्धमा भएको संझौता नेपाली कांग्रेसको प्रयासले संसदबाट पारित भएको पनि बताए। उनले यो संझौता लिने सम्बन्धमा अहिले संसदमा रहेका सबै दलहरु सरकारमा बस्दा अगाडि बढाउन सहमति दिएकोले नेपाली कांग्रेसले कुनै दलले विपक्षमा नहुने विश्वासमा लामो समयसम्म यसका बारेमा मुख नखोलेको बताए।

बीपी कोइरालाको भनाईलाई उद्घृत गर्दै उनले भने: 'वी पीले भन्नुभएको थियो, जब सत्यको मुख बन्द हुन्छ, झूटाको थुतुनो चल्छ। अर्थात सत्य जानेका चुप बसेपछि जसले झूटो बोल्छ। बाँकीले त्यसको कुरा पत्याउने स्थिति हुन्छ। एमसीसीमा त्यही भएको हो।'

उनले थपे: एमसीसीका बारेमा कम्युनिष्टहरुले सिर्जना गरेको झूठको पर्दा गिर्न थाल्यो। आफू सत्तामा बस्दा ठिक हुन्छ भनेर सहमति गरेको छ। अगाडि बढाएको छ। पारित गर्ने बेलामा सडकमा उफ्रिएको छ। नेपालको अन्तराष्ट्रिय साखः गिरिसकेको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाको सुझबुझपूर्ण नेतृत्वले एमसीसीमा राष्ट्रिय सहमति जुटाएर पुनस्थापित गर्ने काम गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell