PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

ओझेलमा त्यो ठाउँ जहाँबाट देखिन्छ फेवातालमा तैरिरहेको माछापुछ्रे



रिना थापा

ओझेलमा त्यो ठाउँ जहाँबाट देखिन्छ फेवातालमा तैरिरहेको माछापुछ्रे

‘माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रै'छ,

पोखरा त साँच्चिकैको पोखरा नै रै'छ…

+++

‘फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छायाँ...’

+++

फेवातालमा माछापुच्छ्रेको छायाँलाई लिएर यसैगरी काव्यिक रचनहरु धेरै बने। तीनमा संगीत भरियो, शब्दशब्द चर्चित बने। तिनै मार्फत् माछापुच्छ्रेको फेवातालमा देखिने दृश्यबारे प्रचार भइरह्यो। माछापुछ्रेलाई फेवातालमा कतिले देखे त?

फेवातालमा डुबुल्की मारिरहेको माछापुछ्रेको दृश्य चाहिँ असाध्यै थोरैको नजरमा परेको हुन्छ।

पोखरा पर्यटकीय नगरी। त्यही बनेका गीत फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छायाँ... चर्चित पनि। तर, माछापुच्छ्रेको छायाँ देखिने ठाउँ चाहिँ आफैँ ओझेलमा छ।

आकाश छ्याङ खुलेको दिन माछापुच्छ्रेले फेवातालमा डुबुल्की लगाएको देख्‍न सकिन्छ। पोखरा नगरपालिका वडा नम्बर १७ स्थित ड्याम साइड किनारबाट देखिने तैरिरहेको माछापुछ्रेको दृश्यले कसको मन नलोभ्याउँला? पानीमा हिमालको विम्ब हेर्ने उत्कृष्ट ‘स्पट’हुँदाहुँदै पनि कमै पर्यटक पुग्छन् यहाँ।

त्यही अवस्थामा यस ‘स्पट’मा पर्यटकलाई आर्कषित गर्न सरकारले योजना नल्याएको होइन। ओझेलमा परेको स्थानलाई थप विशेषता थपेर ‘ब्रान्डिङ’ गर्न कस्सियो पनि। गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा फेवातालमा माछापुच्छ्रेको मात्र नभई नेपालको झन्डा पनि देखाउने तय भयो।

गण्डकीका पहिलो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकारले २०७५ साउन १६ गते बसेको मन्त्रिपरिषद् बैठकमा ड्यामसाइडमा नेपालको राष्ट्रिय झण्डा निर्माण गर्ने निर्णय गरेको थियो। निर्णय गरेसँगै २०७६ वैशाख १६ गते ड्यामसाइडमा पर्ने ७ रोपनी जग्गामा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले ‘माछापुच्छ्रे प्रतिविम्ब पार्क’को शीलन्यास गर्‍यो। गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, तत्कालीन पर्यटन मन्त्री विकास लम्साल र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसीले हर्षका साथ पार्कको शीलन्यास गरेका थिए।

८० फिट अग्लो नेपालको झन्डा, पार्कभित्र बाल उद्यान, खुल्ला व्यायाम स्थल बनाउने योजनाका साथ करिब चार करोड लगानी गर्नेगरी माछापुच्छ्रेको प्रतिविम्ब पार्कको काम अघि बढ्यो। तर, काम राम्रोसँग सुरुवात हुन नपाउँदै योजना अलपत्र। प्रदेश सरकार र महानगर दुवैले बिर्सिए आफैंले सुरु गरेको योजना।

त्यसो त महानगरले काम अघि नै नबढाएको भने होइन। महानगरले १ करोडौं ८ लाख रुपैयाँको टेन्डर आह्वान गरेर बिनु कन्स्ट्रक्सन कम्पनीलाई ठेक्काको दियो। पहिलो चरणमा ४५ मिटर पर्खाल निर्माण गर्ने, जग्गा सम्याउने, पार्कभित्र पैदल मार्ग निर्माण र दुबो लगाउने काम भयो। काम हुँदाहुँदै प्रदेश सरकारले बजेट नभएको भन्दै योजनाबाट हात झिक्यो। महानगरले मौनता साँध्यो।

अहिले निर्माण योजना रोकिनुका साथसाथै पार्क अव्यवस्थित बनेको छ। पार्कको छेउमा पर्ने तालमा रहेको फोहोरलाई लिएर बेलाबेला आलोचना भइरहन्छ। सामाजिक सञ्जालमा पार्क वरपरको फोहोरलाई लिएर वडा र महानगरको आलोचना भएको थियो।

अहिले भने पार्क सरसफाइ गर्न र रोकिएको योजना अघि सार्न ड्यामसाइड क्लब र वडा १७ लागेका छन्। वडा नम्बर १७ का वडा अध्यक्ष तीर्थराज अधिकारीले पार्कको काम ड्यामसाइड क्लब, पर्यटन बोर्ड र वडा कार्यालयले अघि बढाउन लागेको बताए। पार्क जानका लागि उर्जा मन्त्रालय र पार्कको एकै गेट छ। वडा र क्लबले पार्क प्रवेशको लागि बेग्लै गेट राख्‍ने तयारी गरेको छ।

'अहिलेसम्म क्लबले संरक्षण गर्ने काम गरेको छ। अब पर्यटन बोर्ड, वडा र नपुगेकाले क्लबले सहयोग गरेर अर्को गेट हाल्ने तयारीमा छौं। संरक्षणको जिम्मा वडाबाट सबै क्लबलाई दिएका हौं,’ वडा अध्यक्ष अधिकारीले भने।

यस्तै, योजना अलपत्र पर्नुमा ठेकेदारको दोष रहेको बताउँछन् अधिकारी। जिम्मा पाएको कम्पनीले निर्माण कार्यमा चासो देखाएन। महानगरले उक्त कम्पनीसँग ठेक्का सम्झौता खारेज गरेन। नियम अनुसार पहिलो ठेक्का खारेज वा सप्पन्न नभएसम्म अर्को आह्वान गर्न मिल्दैन।

‘प्रदेश र महानगरपालिका ज्वइन्ट भेन्चरमा १ करोड बढीको ठेक्का निस्कियो। जिम्मा पाएको कम्पनीले काम राम्रोसँग गरेन। ससाना समस्या आउँदै प्रदेशले हात झिक्यो। महानगरले केही गरेन,’ अधिकारीले भने।

यता, महानगर र प्रदेशको सहकार्यमा अघि सारेको योजना बिर्सेर बसेको छ। महानगरका सूचना अधिकारी र प्रवक्तालाई योजना कहिले रोकियो र किन अघि बढेन, थाहा छैन। ठेक्का सम्झौता गरेर अलपत्र पारेका ठेकेदारको समेत वास्ता छैन महानगरलाई। महानगरमा जानकारी माग्दा उनीहरुले नै जानकारी खोज्नुपर्ने अवस्था रहेछ।

‘जसले कामको जिम्मा लिएर बिचमा छोड्यो त्यो कारवाही गर्नुपर्ने हो। यो विषयमा मैले फेरि थप बुझ्नुपर्छ,’ महानगर प्रवक्ता धनबहादुर नेपालीले भने, ‘कहिलेकाहीँ संयुक्त काममा एउटाले वास्ता गरेन भने यत्तिकै सेलाउने हुन्छ। पार्टनरसीप राम्रो पनि हो, नजाने खत्तम पनि हुन्छ।’

पर्यटन बोर्ड, वडा र क्लबको सक्रियता संरक्षण

योजना अलपत्र बनिसकेपछि पार्क संरक्षणको जिम्मेवारी ड्यामसाइड क्लबले पाएको छ। क्लब पनि योजनाको केही काम पूरा गर्न अघि सरेको छ। ड्याम साइड क्लबका निर्वतमान अध्यक्ष तथा माछापुच्छ्रे प्रतिविम्ब पार्क कार्यसमितिका संयोजक पदम ढकालले पार्कलाई स्तरोन्नति र व्यवस्थित पार्न लागेको बताए। डिभिजन वन कार्यालयको ९ लाख, वडा १७ को ७ लाख, नेपाल पर्यटन बोर्डको १५ लाख रुपैयाँ सहयोगमा पार्कको काम केही अघि बढ्ने उनले सुनाए।

फेवातालमा माछापुच्छ्रेको उत्कृष्ट दृश्य हेर्नका लागि पार्क निर्माण योजना अघि बढेको हो। स्थानीय बासिन्दा त यस स्पटलाई पर्यटकीय हिसाबले सिंगार्न पहिलेदेखि नै लागेका हुन्। स्थानीय सरकार आएपछि मात्र महानगरको यसतर्फ चासो गएको थियो।

‘निकै लामो समय संघर्षमा रहेर यो स्थानलाई चिनाउन लाग्यौं। स्थानीय सरकार आइसकेपछि चासो लिए। तर, प्रदेश सरकारले पैसा राख्‍न सकेन,’ ढकालले भने, ‘अघिल्लो सरकारले पनि ध्यान दिएन सरकार जुन आओस् योजनामा निरन्तरता हुनुपर्‍यो। हामी अहिलेसम्म महानगरमै केन्द्रित छौं। जुनसुकै दलको प्रतिनिधि भए पनि सरकारकै सम्पत्ति हो यो।’

अहिले क्लबले पार्क प्रवेश गर्नका लागि बेग्लै गेट राख्‍ने तयारी गरेको छ। यस्तै, ड्यामसाइड छेउमा रहेको फोहोर व्यवस्थापनमा पनि क्लब नै अघि सरेको छ।

‘हामीले पार्कमात्र नभइ फोहोर व्यवस्थापनका लागि स्रोत साधनविना पनि काम गरिराखेका छौं। सामाजिक संजालमा नकारात्मक टिप्पणीसहित तस्विर पनि आएको छ,' उनले भने, 'जिम्मेवारी सरकारको हो तर हामी पनि स्थानीय बासिन्दा भएकाले यो दायित्व पनि पूरा गर्छौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell