PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

गठबन्धन आवश्यकताका आधारमा, चैत्रभित्रै उम्मेदवारी टुङ्ग्याउने प्रयास : कांग्रेस प्रवक्ता महत



पहिलोपोस्ट

गठबन्धन आवश्यकताका आधारमा, चैत्रभित्रै उम्मेदवारी टुङ्ग्याउने प्रयास : कांग्रेस प्रवक्ता महत

सल्यान : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आगामी स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उठ्ने उम्मेद्वारहरुको टुङ्गो चैत्र महिनाभित्रै लगाइसक्ने दावी गरेका छन्।

सल्यान पुगेका उनले आज बिहान आयोजित पत्रकार सम्मेलनमा यस्तो दावी गरेका हुन्।

'यसपटक विगतमा जस्तो उम्मेदवारी दिने अन्तिम दिनसम्म को उठ्ने हो भन्ने टुंगो नलाग्ने स्थिति रहने छैन,' महतले भने, 'निर्णय गर्ने प्रकृया पनि विभिन्न तहमा विकेन्द्रित छ। चैत्र महिनाभित्रै उम्मेदवारको टुंगो लगाउने कोसिस गछौं।'

उहाँले पार्टीका तल्लो तहका समितिले टुंग्याउन नसकेका विवाद केन्द्रले हेर्नसक्ने पनि बताए। 'जुन तहको हो उम्मेद्वारी हो, त्यहीँ टुङ्गियोस्। सर्वसम्मत होस् भन्ने केन्द्रको चाहना छ, उनले भने।

कार्यक्रममा महतले स्थानीय तहको उम्मेद्वारीको सामान्य मापदण्ड पनि सार्वजनिक गरेका थिए।

उनले निर्वाचनमा सकेसम्म धेरैभन्दा धेरै पदमा जित्ने लक्ष्य हुने भएकाले जसलाई उठाउँदा बढी मत आउछ, त्यसैलाई प्राथमिकता दिएर उम्मेद्वारी तय गर्न उपयुक्त हुने बताए।

'माथिल्लो तहको चुनावमा सबैले सबैलाई चिनेको हुँदैन। त्यसैले पार्टीगत आधारमा मतदान हुन्छ। तर, स्थानीय तहको निर्वाचनमा सबैले सबैलाई चिनेको हुन्छ,' महतले भने, 'व्यक्तित्व, कार्य क्षमता, योग्यता सबैले जान्ने भएकाले जसलाई उठाउँदा चुनाव जितिन्छ, त्यसलाई उठाउन उचित हुन्छ।'

गठबन्धन आवश्यकताका अधारमा

प्रवक्ता महतले आउने स्थानीय चुनावमा केन्द्रमा सत्ता गठबन्धनमा रहेका दलबिच गठबन्धन हुन्छ कि हुँदैन?

उनले स्थानीय निर्वाचनमा स्थानीय आवश्यकताका आधारमा पनि यसको तय हुने तर गठबन्धन हुने नहुनेबारेमा कांग्रेसको चैत ११ गते बस्ने बैठकले तय गर्नसक्ने पनि बताए।

उनले सबै दलको लक्ष्य निर्वाचनमा बढी सिट जित्ने हुने भएकाले कसो गर्दा बढी सिट जितिन्छ, त्यसै अनुरुप निर्णय हुने पनि बताए। 'एक्लै लड्दा बढी जितिन्छ भन्ने देखियो भने त्यही गरौं, सहकार्य गर्दा बढी सिट जितिने भयो भने त्यसको आधारमा होला,' उनले भने।

नेपाली कांग्रेसका कार्यकर्ताहरु गठबन्धन गर्न हुन्छ हुँदैन भन्ने बहसमा अल्झन नहुने पनि बताए। वर्तमान गठबन्धन कुन अवस्थामा बनेको भन्नेमा हेक्का राख्नुपर्ने उनको भनाइ थियो। तत्कालीन ओली सरकारले संविधानको उल्लंघन गर्दै प्रतिनिधिसभा दुईपटक विघटन गरेको, देशमा भ्रष्टाचार बढेको, कोरोनाले आक्रान्त नागरिकले खोप पाउन नसकेको बेलामा गठबन्धन बनेको उनले बताए।

उहाँले नेपाली जनताको पछौटेपन र गरिवीको फाइदा उठाउँदै कम्युनिष्टहरुले तिलस्मी सपना देखाएर जनतालाई गरिवीमा अल्झाएको आरोप पनि लगाए। दुई वर्षमा रेल ल्याउने, घरघरमा पाइपमा ग्यास पुर्‍याउने र पानी जहाज ल्याउने कुरा सुनाएर जनता अल्मल्याएको पनि उनको दावी थियो।

उनले हालै ससदबाट पारित एमसीसी सम्झौताको प्रसंग निकाल्दै कम्युनिष्ट नेताको भनाई र गराईमा कुनै तालमेल नहुने सुनाए। 'नेपाली कांग्रेस सत्तामा हुँदा होस् कि विपक्षमा, सत्यको पक्षमा बोल्छ र उभिइरहन्छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell