PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

फिल्म ‘चिसो एष्ट्रे’ले पाएन दर्शकको साथ



पहिलोपोस्ट

फिल्म ‘चिसो एष्ट्रे’ले पाएन दर्शकको साथ

काठमाडौं : गत शुक्रवारबाट फिल्म ‘चिसो एष्ट्रे’ प्रदर्शनमा आएको छ। भूपि शेरचनको कविताबाट प्रभावित यस फिल्मप्रति दर्शकको साथ पाउने धेरैको आश थियो। तर, फिल्मको व्यापार भने निराशाजनक रहेको छ।

मिडियामा राम्रो स्थान पाएता पनि फिल्म ‘चिसो एष्ट्रे’ले हलमा भने दर्शक तान्न सकेन। बलिउड फिल्मको तुलनामा नेपाली फिल्ममा दर्शकहरूको उपस्थिति न्यून रहेको हल सञ्चालकको भनाइ छ।

चाबहिलमा रहेको एफक्युब सिनेमामा ‘चिसो एष्ट्रे’मा दर्शकको संख्या न्यून रहेको व्यवस्थापक रामहरी कोइरालाले जानकारी दिए। बलिउड फिल्म ‘द कश्मीर फाइल्स’, ‘बच्चन पाण्डे’ र ‘राधेश्याम’मा भने दर्शकको उपस्थिति ठीकै रहेको उनी बताउँछन्।

‘चिसो एष्ट्रेमा शुक्रवार र शनिवार २०/३० जना आउनु भएको थियो। तर, दर्शक नभएर आजको त शो नै क्यानसिल भयो। दर्शकहरू नहुँदा हामीले पहिलो दिनदेखि नै फिल्मलाई एक शो मात्रै दिएका छौँ,’ उनले भने।

सुन्धाराकै सीटीसी मलमा रहेको ‘सीडीसी सिनेमाज’मा पनि नेपाली फिल्ममा दर्शकको संख्या कम छ। हलमा ‘चिसो एष्ट्रे’लाई दर्शकको साथ नभएको सीडीसी सिनेमाका हल व्यवस्थापक जीवन शाक्यले बताए।

‘पहिलो र दोस्रो दिन चिसो एष्ट्रेलाई दुई/दुई शो दिएका थियौँ। तर, दर्शक नआएपछि आज एक शो मात्रै दिइएको छ। फिल्म राम्रो छ भन्छन् तर हलमा भने दर्शक छैनन्,’ उनले भने।

देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्समा पनि ‘चिसो एष्ट्रे’मा दर्शकहरूको संख्या निकै न्यून नै रहेको बताउँछन् क्यूएफएक्सका आदर्श सिग्देल। तर, बलिउड फिल्ममा भने दर्शकको संख्या उत्साहजनक नै रहेको उनले बताए। ‘द कश्मीर फाइल्स’ र ‘बच्चन पाण्डे’ले दुई दिनमा २२/२२ लाखमाथिको व्यापार गरिसकेको छ।

सिग्देल भन्छन्, ‘चिसो एष्ट्रेप्रति राम्रो आशा थियो। तर, सोचेको जस्तो फिल्मले व्यापार भने गर्न सकेन। बाँकी बलिउड फिल्ममा भने दर्शकको संख्या राम्रो छ। दुई ठूला बलिउड फिल्ममाझ चिसो एष्ट्रे छाँयामा परेको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell