
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिले आफ्नो पार्टी प्रवेशको लहर चलेको बताएका छन्। केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपालले एकीकृत समाजवादीको संगठन देशभरी फैलिएको दाबी गरेका हुन्।
'जनताले हामीलाई आशाका साथ हेरेका छन्। यो पार्टी सबै खालका गलत प्रवृतिका विरुद्ध जुध्ने छ। हामीले जनताको विश्वास जित्ने छौं। हामीले राष्ट्रिय सभाको लडाइँ सुरुमै जितेका थियौं,'उनले भने।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सबै ठाउँमा पराजित भए पनि गल्ती नस्वीकार्ने प्रवृत्तिले उनी प्रतिको वितृष्णा बढेको नेपालको मत छ। बैशाख ३० गते तय भएको स्थानीय निर्वाचनमा आफ्नै शक्तिको आधारमा जित्न सकिने नेपालको भनाइ छ। अरु पार्टीहरुले एकीकृत समाजवादीसँग सहकार्य गर्न चाहेको उनले बताए।
'लोकतान्त्रिक शक्तिहरुले विजय हासिल गरुन। दक्षिणपन्थीहरु पराजित हुन्,' नेपालले अरु पार्टीसँगको सहकार्यको औचित्यबारे भने।
उनले गठबन्धनमै मात्रै भर नपर्न नेता/कार्यकर्तालाई निर्देशन दिए। एमालेमा केही मान्छेहरु प्रवेश गरे पनि धेरैजसो नेता/कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरिरहेको उनको दाबी थियो।