
बुटवल : पाल्पाको तिनाउ गाउँपालिका-३ झुम्सा नजिकै भूतखोलामा डुबेर तीन दिनमा दुई जनाको मृत्यु भएको छ।
आइतवार दिउँसो भारतको गोरखपुर घर भएका २८ वर्षीय सान्तनु नन्दीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए।
अन्य तीन जना साथीहरुसँग घुम्न आएका नन्दी फोटो खिच्ने क्रममा ढुंगामा चिप्लिएर खोलामा खसेका थिए। प्रहरी र स्थानीयको सहयोगमा तत्काल उद्धार गरि उपचारका लागि उनलाई उपचारका लागि बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको थियो। चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
त्यस्तै गत शुक्रवार पनि रुपन्देहीको बुटवल उपमहानगरपालिका-८ का १८ वर्षीय प्रसन्न पोखरेलको सोही खोलामा डुबेर मृत्यु भएको थियो। साथीहरुसँगै सिद्धार्थ राजमार्गको छेउमा पर्ने आङखना घुम्न गएका पोखरेल खोलामा हातमुख धुन जाँदा डुबेका थिए।
उनलाई पनि उद्धार गरि प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो। पछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।