PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

वेस्टहमलाई हराउँदै टोटेनहम शीर्ष पाँचमा उक्लियो



पहिलोपोस्ट

वेस्टहमलाई हराउँदै टोटेनहम शीर्ष पाँचमा उक्लियो
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहम हट्सपरले वेस्टहमलाई हराएको छ। टोटेनहमको घरेलु मैदानमा सम्पन्न खेलमा वेस्टहम ३-१ गोलअन्तरले पराजित भएको हो। घरेलु टोलीलाई जित दिलाउन सन ह्युङ मिनले दोहोरो गोल गर्दा एक गोल वेस्ट हमका कुर्त जउमाले आत्मघाती गोल गरेका थिए। उता वेस्टहमका लागि सइद बेन्रह्मले सान्त्वना गोल फर्काए।

खेलको नवौं मिनेटमै जउमाको आत्मघाती गोलमा टोटेनहमले खेलमा अग्रता बनाएको थियो। २४ औं मिनेटमा सन ह्युङ मिनले ह्यारी केनको पासमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए। अर्कोतर्फ ३५ औं मिनेटमा वेस्टहमका सइदले गोल फर्काउँदा पहिलो हाफमा टोटेनहम २-१ ले अघि रह्यो।

दोस्रो हाफमा सनले नै अर्को गोल थपे। ह्यारी केनकै पासमा खेलको ८८ ‍औं मिनेटमा उनले गोल गर्दा टोटेनहमले ३-१ ले खेल आफ्नो पक्षमा पार्‍यो। जितसँगै २९ खेलबाट ५१ अंक जोडेको टोटेनहम शीर्ष पाँचमा उक्लिएको छ भने वेस्टहम ३० खेलबाट ४७ अंक जोडेर तालिकाको सातौं स्थानमा छ।

गएराति नै सम्पन्न प्रिमियर लिगको अर्को खेलमा लेस्टरसिटीले ब्रेन्टफोर्डलाई २-१ ले हराउँदै दशौं स्थानमा उक्लिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell