काठमाडौँः मोरङको लेटाङ नगरपालिकामा स्थानीय र प्रहरीबीच झडप हुँदा एक जना महिला प्रहरीको मृत्यु भएको छ। गएराति प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो। झडपमा उनको घाँटीमा चोट लागेको थियो। उपचारको क्रममा उनको कोशी अस्पतालमा मृत्यु भएको हो।
गत शुक्रबार लेटाङ नगरपालिका ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्यानरत एक बालिकालाई यौन दूर्व्यवहार गरेको घटना बाहिरिएको थियो। होली खेल्ने क्रममा शिक्षकले दूर्व्यवहार गरेका थिए।
त्यसपछि स्थानीय शिक्षक पौडेलप्रति आक्रोशित बनेका थिए। त्यही क्रममा आइतबार विद्यालय घेरा हालेर शिक्षकलाई कुटपिट गर्ने जस्ता गतिविधि बढेपछि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो। आरोपीलाई प्रहरीले बचाउन खोजेको भन्दै भीडले प्रहरीमाथि आक्रमण गरेको थियो।
विद्यालयमा रहेका आरोपी शिक्षकलाई लिएर जाने क्रममा प्रहरीमाथि आक्रमण भएको थियो। आक्रमणमा जिल्ला प्रहरी कार्यालय मोरङका एसपीसहित प्रहरी घाइते भएका छन्। अहिले मोरङका केही स्थानमा अनिश्चित समयको लागि कर्फ्यू लगाइएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए।
'एक जना प्रहरी जवानको मृत्यु भएको छ। अहिले अवस्था सामान्य छ। केही स्थानमा अर्को आदेश नभएसम्मको लागि कर्फ्यू लगाइएको छ' सिडिओ दाहालले भने।