PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

मार्क जुकरबर्गले कस्ता मानिसहरुलाई नियुक्त गर्छन् आफ्नो कम्पनीमा?



पहिलोपोस्ट

मार्क जुकरबर्गले कस्ता मानिसहरुलाई नियुक्त गर्छन् आफ्नो कम्पनीमा?
REUTERS/Stephen Lam

मार्क जुकरबर्ग सबैभन्दा प्रख्यात टेक सीईओ मध्येका एक हुन्। मेटाका (यसअघि फेसबुक) ह्वाट्सएप, इन्स्टाग्राम, फेसबुक जस्ता प्लेटफर्महरू छन् जुन विश्वभर दैनिक अरबौँ मानिसहरुले प्रयोग गर्छन्।

जुकरबर्गले हार्वर्ड विश्वविद्यालयको आफ्नो होस्टेलको कोठाबाट फेसबुक सुरु गरेका हुन्। जुकरबर्गले कलेजका विद्यार्थीहरूका लागि केही सुझावहरु सेयर गरेका छन्।

उनले कस्ता मानिसहरुलाई आफ्नो कम्पनीमा नियुक्त गर्छन् भन्नेबारे पनि जानकारीहरु सेयर गरेका छन्। सीएनबीसीको रिपोर्टमा जुकरबर्गले पोडकास्टमा दिएको अन्तर्वार्ताको विवरण उल्लेख छ।

एमआईटी कम्प्युटर साइन्टिस्ट लेक्स फ्रिडम्यानको पोडकास्टमा जुकरबर्गले कलेजमा हुँदा कोसँग बढी समय बिताउने भन्ने निर्णय सबैभन्दा महत्त्वपूर्ण हुने बताए।

‘जस्ता मानिसहरुसँग तपाईँ बढी घुलमिल गर्नुहुन्छ तपाईँ त्यस्तै बन्न सक्नुहुन्छ’, जुकरबर्गले अन्तर्वार्तामा भनेका छन्, ‘मलाई लाग्छ कि सम्भवतः मानिसहरू पनि सामान्यतया उद्देश्य केन्द्रित हुन्छन्, र सम्भवतः सम्बन्धहरु अर्थात उनीहरू कोसँग सम्बन्ध निर्माण गर्दै छन् भन्नेबारे मानिसहरूमा पर्याप्त ध्यान दिँदैनन्।’

आफूले पनि उद्देश्यभन्दा सम्बन्धलाई प्राथमिकता दिने प्रयास गरेको जुकरबर्गले बताए। उनले कामको लागि कसैको मूल्याङ्कन गर्दा आफू हाकिमको रुपमा नभइ त्यो व्यक्तिको लागि काम गर्दा कस्तो होला भनेर कल्पना गर्ने बताए।

‘म त्यस्तो व्यक्तिलाई मात्रै मेरो लागि काम गर्नको लागि नियुक्त गर्छु जसको लागि म आफूले काम गरेको कल्पना गर्न सक्छु,’ उनले भने।

उनी किन त्यसो गर्छन् भन्ने सवालमा मेटा सीईओ जुकरबर्गले यो रणनीतिले थप उत्पादनशील वातावरण बनाउन मद्दत गर्ने बताएका छन्। मानविय स्तरमा साझा मूल्य मान्यताहरु भएका व्यक्तिहरूसँग सँगै काम गर्दा सफलता हासिल गर्न सकिने भएकाले व्यक्तिगत अनुकूलता खोज्नु महत्त्वपूर्ण हुने जुकरबर्ग बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell