काठमाडौं : मोरङको लेटाङ नगरपालिकामा स्थानीय र प्रहरीबिच झडप हुँदा एक जना महिला प्रहरीको मृत्यु भएपछि पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको हो।
गएराति प्रहरी र स्थानीयबिच झडप हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो। झडपमा उनको घाँटीमा चोट लागेको थियो। उपचारको क्रममा उनको कोशी अस्पतालमा मृत्यु भएको थियो। सोही घटनामा अनुसन्धानको क्रममा पाँच जनालाई नियन्त्रणमा लिएको र थपको खोजी भइरहेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए। अहिलेसम्म कसले महिला प्रहरीमाथि आक्रमण गर्यो भन्ने खुलेको छैन।
गत शुक्रबार लेटाङ नगरपालिका ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्यानरत एक बालिकालाई यौन दूर्व्यवहार गरेको घटना बाहिरिएको थियो। होली खेल्ने क्रममा शिक्षकले दूर्व्यवहार गरेका थिए।
त्यसपछि स्थानीय शिक्षक पौडेलप्रति आक्रोशित बनेका थिए। त्यही क्रममा आइतवार विद्यालय घेरा हालेर शिक्षकलाई कुटपिट गर्ने जस्ता गतिविधि बढेपछि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो। आरोपीलाई प्रहरीले बचाउन खोजेको भन्दै भिडले प्रहरीमाथि आक्रमण गरेको थियो।
विद्यालयमा रहेका आरोपी शिक्षकलाई लिएर जाने क्रममा प्रहरीमाथि आक्रमण भएको थियो। अहिले जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ क्षेत्रमा कर्प्यू जारी गरेको छ।