
काठमाडौं : नेकपा एमालेको पोलिटब्युरो बैठकमा स्थायी कमिटी सदस्यहरु घनश्याम भुसाल र रघुजी पन्तले वाम एकताको प्रस्ताव राखेका छन्। बबरमहलस्थित कार्की बैंक्वेटमा बसेको बैठकमा भुसाल र पन्तले वाम एकता नभए चुनावी तालमेल गर्नुपर्ने प्रस्ताव गरेका हुन्।
बैठकमा २१ जना पोलिटब्युरो सदस्यहरुले आआफ्नो धारणा राखेको पार्टी प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। अधिकांश सदस्यहरुले चुनावी तालमेलबारे ठोस निर्णय गरेर जानुपर्ने बताएका थिए।
'अधिकांशले चुनावी तालमेलबारे ठोस निर्णय होस भन्नुभएको छ। तर हामी अहिले हल्लाखल्ला गरेर वाम एकता भनेर जादैनौँ,'गुरुङले भने।
बैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्ने बैठकले निर्णय गरेको छ।
चैत ९ र १० गते बस्ने केन्द्रीय कमिटीको बैठकको एजेण्डाका विषयमा पोलिटब्युरो बैठक केन्द्रित भएको थियो। यस्तै आजको बैठकमा उम्मेद्वार चयनको मापदण्डबारे पनि छलफल भएको गुरुङले बताए।
गुरुङका अनुसार वडा अध्यक्ष र वडा सदस्यको उम्मेद्वारको सिफारिस वडा कमिटीले गर्नेछ भने निर्णय पालिका कमिटीले गर्ने तय भएको छ। गाउँ पालिकाको अध्यक्ष/ उपाध्यक्षको सिफारिस जिल्ला कमिटीले गर्ने र निर्णय प्रदेश कमिटीले गर्ने मापदण्ड तय गरिएको गुरुङले बताए।
नगरपालिकाको प्रमुख/उपप्रमुखको उम्मेद्वारको सिफारिस जिल्ला कमिटीले गर्ने र निर्णय प्रदेश कमिटीले गर्ने एमालेको निर्णय छ। महानगर र उपमहानगरको उम्मेद्वार भने प्रदेशको सिफारिसमा केन्द्रले गर्ने तय भएको छ।
लोकप्रियाताको, जनाधार, पार्टी प्रतिको निष्ठा लगायतका ६ वटा मापदण्डका आधारमा उम्मेद्वार तय हुने एमालेले जनाएको छ।