
चीनको सिभिल एभिएसन एडमिनिस्ट्रेसनले चाइना इस्ट्रन एयरलाइन्सको बोइङ ७३७-८०० बिहान वुचोउ क्षेत्रबाट सम्पर्कबिहिन भएको जनाएको छ। कुन्मिन देखि क्वानचाउका लागि उडेको विमान १२३ यात्रु र ९ जना चालक दलका सदस्य थिए।
योसँगै त्यहाँको नागरिक उड्डयन प्रशासनले आपतकालिन संयन्त्र परिचालन गरेको छ।
यता विमान दुर्घटना भएसँगै चाइना इस्ट्रनले आफ्नो आधिकारिक वेवसाइटलाई श्यामश्वेत बनाएको छ। त्यस्तै चाइना इस्ट्रनको अफिसियल 'ह्वी च्याट अकाउन्ट' पनि श्यामश्वेत बनाइएको छ। चाइना इस्ट्रन एयरलाइन्स चीनका प्रमुख तीन सरकारी स्वामित्व रहेको कम्पनी मध्ये एक हो। यो कम्पनीको बेस सांघाइमा रहेको छ।
चाइना इस्ट्रन १७० देशका एक हजार ३६ गन्तव्यमा उडान भर्दै आएको थियो। यो कम्पनीसँग ७३० वटा विमान रहेको चीनको अनलाइन दी पेपरले जनाएको छ।
हराइरहेको विमान स्थानीय समय अनुसार १ बजेर १० मिनेटमा कुन्मिनबाट उडान भरी ३ बजेर ५ मिनेमा क्वान्चाओ पुग्नुपर्ने थियो। यो विमान ६ वर्ष पुरानो हो।
यो विमान बोइङको नयाँ 'जेनेरेशन' हो। क्वान्चाओ बाइयुन विमानस्थलका एक अधिकारीले विमान विमानस्थलमा अवतरण नभए जानकारी दिएका छन्।
१२ वर्ष पछिको विमान दुर्घटना
चीनको नागरिक उड्डयन अधिकारी चु थाओले फेब्रुअरी १९ सम्म चीनका विमानहरुले १०० मिलियन सुरक्षित उडान भरेर रेकर्ड कायम गरेको जानकारी गराएका थिए।
यो रेकर्ड कायम गरेको १ महिना पछि नै चीनमा विमान दुर्घटना भयो। यो विमान दुर्घटना १२ वर्ष पछि चीनमा भएको पहिलो विमान दुर्घटना हो। सन् २०१० को अगस्टमा हनान एयरलाइन्सको विमान दुर्घटना भएको थियो। चीन उत्तर पूर्वी प्रान्त हेइलोङ चियाङमा चीचुन सीटी एयरपोर्टको रनवेमा ओभरसुट हुँदा दुर्घटनामा परेको थियो। दुर्घटनामा विमानमा रहेका ९१ जना यात्रु र पाँच चालक दलका सदस्य मध्ये ४२ जनाको मृत्यु भएको थियो।
चीनमा १३२ जना यात्रु सवार विमान दुर्घटना, घटनास्थलमा उद्धार टोली जाँदैhttps://t.co/eEMx6h4PMr pic.twitter.com/ADOVMoo8El
— PahiloPost (@PahiloPost) March 21, 2022
यसअघि चीनमा सन् १९९४ जुन ६ का दिन सबैभन्दा ठूलो विमान दुर्घटना भएको थियो। दुर्घटनामा १६० जनाको मृत्यु भएको थियो। यो नै चीनको भूमिमा भएको सबै भन्दा ठूलो दुर्घटना हो।
चाइना नर्थवेस्ट एयरलाइन्सको तुपोलेभ टीयु-१५४ एम टाइप विमान सियान-सियानयाङ अन्तराष्ट्रिय विमानस्थल नजिकै दर्घटना भएको थियो। त्यो विमानस्थल पनि क्वान्चाओ-बाइयुन विमानस्थलका लागि उडेको थियो।
सियानबाट उडेको केही समयमा नै विमान दुर्घटना भएको थियो। सियानबाट ८:१३ मिनेटमा उडेको २४ सेकेन्डमा नै चालक दलका सदस्यले समस्या भएको जानकारी गराएका थिए। लगत्तै विमान अनियन्त्रित रुपमा दायाँबायाँ हल्लिन थालेको थियो। त्यस लगत्तै विमान तलमुख झर्न थाल्यो।
१९९४ मै चीनकै चाइना एयरलाइन्सको फ्लाइट १४० दुर्घटनामा परेको थियो। यद्यपि, यो दुर्घटना मुख्यभूमि चीन बाहिर थियो। ताइवानको चियाङ काइ-सेक अन्तर्राष्ट्रिय विमानस्थलबाट जापानको नागोया विमानस्थलका लागि उडेको विमान दुर्घटना भएको थियो।
चाइना एयरलाइन्सको इतिहासमै यो सबैभन्दा भयानक दुर्घटना हो। त्यस्तै जापानको भूमिमा भएको दोस्रो र एयरबसको इतिहासमा तेस्रो धेरैको ज्यान लिने दुर्घटना हो।
यो दुर्घटनामा २६४ जनाको मृत्यु भएको थियो। विमानमा १५ चालक दलका सदस्यसहित २५६ यात्रु गरी २७१ जना सवार थिए। दुर्घटनामा दुर्घटनाबाट १० जनाको जीवितै उद्दार गरिएको पछि थप तीन जनाको मृत्यु भएको थियो। बाँचेका मध्ये तीन जना बालबालिका हुन्।