11212.jpg)
काठमाडौं: विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिदेशीय सिरिजमा आज सम्पन्न खेलमा नेपालले यूएईसँग लज्जास्पद हार ब्यहोरेको छ। यूएईस्थित दुबई क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल ९९ रनले पराजित भएको हो।
टस हारेर ब्याटिङमा उत्रिएको यूएई ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल ३५.१ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनमा समेटियो।
सुरुवाती ब्याटिङमा उत्रिएको यूएईलाई मोहम्मद वसीम र चिराग सुरीले ५७ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेका थिए। वसीमले ३३ रन बनाउँदा सुरीले २६ रन तथा बृत्य अरविन्दले २४ रन बनाए। त्यस्तै रोहन मुस्तफाले पारी सम्हाल्दै सर्वाधिक ६० रन बनाए। त्यस्तै अलिसान शरफूले २१ रन बनाउँदा बसील हमीदले १७ रन जोडे।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिँदा सोमपाल कामी र करण केसीले समान २ विकेट लिए। त्यस्तै दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले समान १ विकेट लिए।
जवाफी ब्याटीङमा उत्रिएको नेपालको सुरुवात सुखद हुन सकेन। ओपनर पवन सर्राफ र कुशल भुर्तेल क्रमश २ र ५ रनमा आउट हुँदा धर्माएको नेपाली ब्याटिङलाई दीपेन्द्रसिंह ऐरी पहिलो बलमै आउट हुँदा ठूलो धक्का पुग्यो। नेपाली टोलीको स्कोर उकास्न ज्ञानेन्द्र मल्ल र आरिफ शेखले प्रयत्न गरे पनि ठूलो योगफलमा टीमलाई लैजान सकेनन्। मल्लले सर्वाधिक ३० रन बनाउँदा आरिफ शेख र सोमपाल कामीले समान १५ रन बनाए। त्यस्तै बिनोद भण्डारी १२ रनमा आउट हुँदा अन्य ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन्।
नेपाललाई सामान्य योगफलमा समेट्न जुनैद सिद्धिकीले सर्वाधिक ४ विकेट लिँदा खासिफ दाउद र अममेद राजाले समान २ विकेट लिए। त्यस्तै बसील हमीदले १ विकेट लिए।
जारी सिरिजमा यूएईसँग नेपालको यो दोस्रो हार हो। नेपालले अब सिरिजको चौथो खेलमा भोली पपुवा न्युगिनीसँग खेल्नेछ।