
काठमाडौं : नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द साहले राजीनामा दिएका छन्। उनले दिएको राजीनामा स्वीकृत समेत भइसकेको छ। २०४९ साल चैतमा प्रहरी निरिक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका साहले ३० वर्षे सेवा अवधि पूरा नहुँदै राजीनामा दिएका हुन्।
बढुवा असन्तुष्टी तथा अन्य कारणले उच्च तहमा पुगेका प्रहरीले राजीनामा दिने गरेको नजिरमा साहको राजीनामाको कारण भने फरक रहेको छ। धनुषा गृह जिल्ला भएका साहले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएका हुन्। स्थानीय तहको निर्वाचनमा उम्मेद्वारी दिन कुनै पनि सरकारी पद धारण गरेको हुनुहुँदैन। त्यसैले उनले निर्वाचन हुनु भन्दा दुई महिना अगाडी नै राजीनामा पत्र बुझाएका हुन्।
'समाजमा नै बस्नुपर्छ रिटायर लाइफपछि पनि। त्यही भएर अहिलेदेखि नै समाजनमा नजिक हुन यस्तो कदम चालेको हो,' पूर्व एसएसपी साहले भने। फागुन १० गते गृह मन्त्रालयले उनको राजीनामा स्वीकृत गरेको हो।
साहले आगामी निर्वाचनमा आफ्नो नगरको मेयर पदमा उम्मेद्वारी दिने तयारी गरेका छन्। धनुषाको विदेह नगरपालिकाबाट उनले उम्मेद्वारी दिन लागेका हुन्।
नेपाली कांग्रेसबाट टिकट पाउन आश्वासन पाएपछि उनले राजीनामा दिएका हुन्।
' काँग्रेसबाट लड्ने सोचमा छु। पब्लिकले डिमान्ड गरेकाले पनि राजनीतिमा आउन लागेको हुँ,' साहले पहिलोषोष्टसँगको कुराकानीमा भने।
उनी २०४९ सालमा प्रहरी निरिक्षकबाट संगठनमा छिरेका हुन्। उनका व्याची विश्वराज पोखरेल अहिले नेपाल प्रहरीका एआइजी छन्। त्यस्तै केही भने डिआइजीमा छन्। साह् भने बढुवामा छुटिरहेका थिए। उनी संघिय प्रहरी कार्यालय धरानमा कार्यरत थिए। उनका व्याची प्रहरीहरु भने अहिले आइजी भन्ने दौडमा छन्।