हेटौंडा : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आसन्न स्थानीय तह निर्वाचन् लक्षित घर दैलो अभियानलाई तीब्र बनाउन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। सोमबार कांग्रेस वाग्मती प्रदेश कार्यसमितिको हेटौंडास्थित कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता सिंहले कार्यकार्ताहरु मतदाताको घर–घरमा पुग्नुपर्ने बताएका हुन्। उम्मेदवारका दाबेदारहरु टिकटको दाबी मात्रै गर्दै बसे जनताको विश्वास र मत प्राप्त नहुने उनले बताए।
‘स्थानीय निर्वाचन नजिकिएको छ। हामी जनताको घर आँगनमा पुग्न सकेका छौँ कि छैनौँ? म राम्रो उम्मेदवार हुँ, मैले जितिहाल्छु भनेर बसेर हुँदैन है,’ सिंहले भने, ‘जनताको बिचमा पुग्न सक्नुपर्छ। जनताको हामीप्रति असन्तुष्टिहरु छन् कि? कांग्रेसले सुधार्नुपर्ने पो केही छ कि? यी सबै विषयमा गम्भीर हुनु आवश्यक छ’ सिंहले भने।
उनले सरकारले निर्वाचनको मिति तय गरिसकेको तोकिएकै समयमा निर्वाचन हुने बताए। साथै, चुनावी गठबन्धनको विषयमा भने विभिन्न स्तरबाट केन्द्रीय सम्पादन समितिले सुझाव संकलन गरिरहेको र सोही आधारमा एउटा निष्कर्षमा पुगिने उनले बताए।
‘धेरै सुझावहरु आएका छन्, कसैले निर्वाचनमा एक्लै जानुपर्छ भन्नुभएको छ। केहीले गठबन्धन नगरी हुँदैन भन्नुभएको छ। पार्टीको आन्तरिक सुझाव अनुसार नै अघि बढ्ने हो। गठबन्धन हुने नहुने वा आवश्यकता अनुसार हुने भन्ने विषय केही दिनभित्रै केन्द्रीय कार्यसम्पादन समितिले टुंगोमा पुर्याउँछ,’ सिंहले भने ।
कार्यक्रममा कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले प्रदेश कार्यसमिति कांग्रेसलाई जनताप्रति अझै जवाफदेही र जिम्मेवार बनाउन सक्रिय ढंगबाट अघि बढिरहेको बताएका थिए।