![धनगढीमा मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल सुरु : आर्मी र सुदूरपश्चिमको विजयी सुरुवात](https://pahilopost.com/assets/upload/contentthumb/275967787_419881533237771_6035371267686985797_n.jpg)
कैलाली : धनगढीमा आजबाट सुरु भएको मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी र सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेका छन्।
प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा आर्मीले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटले हरायो। आर्मीले कर्णालीलाई २५–१८, २५–१० र २५–१६ को सेटमा हराएको हो।
यस्तै सोमबार नै भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई २५–१७, २५–२२ र २५–२२ को सोझो सेटले पराजित गरेको छ।
सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा सुरु भएको प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका थिए । परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहका अनुसार १२ गतेसम्म संचालन हुने प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय गरी १० टोलीको सहभागिता रहेको छ।
विजेताले नगद चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार तथा उदयमान खेलाडी, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट सर्वर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार रुपैयाँसहित पुरस्कृत गरिने सिंहले बताए।