PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

जग्गा बेच्न नदिएपछि छोराले गर्न लगाए आमाको हत्या



पहिलोपोस्ट

जग्गा बेच्न नदिएपछि छोराले गर्न लगाए आमाको हत्या

पोखरा: होली मनाएर बिहान घर फर्किँदा मृत अवस्थामा देखे ओमबहादुर नेपालीले आमालाई। पोखरा १२ मा रहेको घरमा पुग्दा ६७ वर्षीय आमा नौमाया नेपालीलाई मृत अवस्थामा देखेपछि ओमले छिमेकी र प्रहरी बोलाए। आफू घरमा नभएको बेला कसैले आमालाई मारिदिएको भनेर रुवाबासी गरे।

ओमले भने जस्तै नौमायाको घाँटी थिचेर हत्या भएको थियो। प्रहरी घटनास्थल पुग्दा नौमायाको घाँटीमा निलडाम र अनुहारमा चोट थियो।

प्रहरीले घटनाबारे खबर पाएपछि अनुसन्धान अघि बढायो। अनुसन्धान गर्दै जाँदा नौमायाको हत्या गर्ने उनै ३६ वर्षीय छोरा ओमबहादुर रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ओमले आफ्नो साथीको सहयोगमा आमाको हत्या गरेको खुलेको छ। नौमायाको हत्या आरोपमा कास्की प्रहरीले ओमबहादुर र उनका साथी ३७ वर्षीय कुमार गुरुङलाई पक्राउ गरेको छ।

मृतक नौमाया प्यारालाइसिसबाट पीडित थिइन्। आमा र छोराबीच जग्गा बेच्ने निहुँमा सामान्य खटपट हुँदै आएको थियो। ओमबहादुर आफ्नो घर र जग्गा बेच्न चाहन्थे। नौमाया जग्गा नबेच्ने अडानमा थिइन्। ओमबहादुरले नौमायालाई जग्गा बेच्नका लागि बारम्बार फकाए। तर, आमा नमानेपछि उनलाई हत्या गर्ने योजनासम्म पुगेको अनुसन्धानका क्रममा खुलेको छ।

जग्गा बेच्ने आफ्नो योजनाको बीचमा आएकी आफनै आमालाई हटाउनेतर्फ लागेका थिए ओमबहादुर। यसका लागि उनले आफ्नै साथी कुमारको सहयोग लिए। आफ्नो साथी कुमारलाई एक लाख रुपैयाँ दिने बाचाका साथ आमाको हत्या गर्न लगाए।

होलीको दिन अबेरसम्म दुवै जनाले मादक पदार्थ सेवन गरेर बसेका थिए। साथी कुमारसँगै घर फर्किँदा आमालाई कोठामा सुतेको देखेपछि ओमबहादुरले कुमारलाई हत्या गर्न पठाए।

'आफू बाहिर बसेर साथीलाई आमा मरेपछि घर बेचेर एक लाख रुपैयाँ नगद दिन्छु भनेर हत्या गर्न पठाएको रहेछ। आमाको हत्या भएपछि साथीको घरमा सुतेर बिहानमात्र फर्किएको देखिन्छ,' जिल्ला प्रहरी कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले भने।

सुरुवातमा प्रहरीले ओमबहादुरले हत्या गर्न सक्लान् भन्ने शंका नै गरेको थिएन। तर,सुक्ष्म निगरानी र अनुसन्धान पछि हत्यामा संलग्न उनै छोरा रहेको खुलेको हो। कास्की प्रहरीले कुमार र ओमलाई हत्या आरोपमा फौजदारी अपराध संहिता २०७४ को परिच्छेद १२, ज्यानसम्बन्धी कसुरको दफा १७७ अनुसार अनुसन्धान प्रक्रिया अघि बढाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell