काठमाडौं: नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा विसं २०५३ सालयता आयोजना हुँदै आएको स्पोर्ट्स अवार्डको १८ औं संस्करणको तयारी पुरा भएको आयोजकले जनाएको छ।
मंगलबार कमलादीस्थित प्रज्ञा भवनको हलमा ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७७ आयोजना हुनेछ। समारोहको सम्पूर्ण तयारी पूरा भएको एनएसजेएफका अध्यक्ष एवं अवार्ड आयोजक मूल समारोह समितिका संयोजक दुर्गानाथ सुवेदी (देवेन्द्र) ले जानकारी दिए। कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण निर्धारित समयभन्दा केही ढिला हुन लागेको अवार्डलाई मञ्चले यसपटक ‘दशक अवार्ड’ को रूपमा आयोजना गर्न लागेको छ।
चर्चित कलाकारको प्रस्तुतिसँगै प्रविधिको उच्च प्रयोग गरेर आकर्षक प्रस्तुति रहने आयोजकले जनाएको छ। अवार्ड कार्यक्रम ३ बजे सुरु हुनेछ। अवार्ड कार्यक्रम नेपालका प्रमुख टेलिभिजन च्यानलहरु एनटीभी प्लस एचडी, एनटीभी न्युज, एक्सन स्पोर्टस एचडी र इमेज च्यानलबाट प्रत्यक्ष प्रशारण हुनेछ। त्यस्तै एनएसजेएफको युट्युब च्यानल, फेसबुक पेज र खेलकुदका अनलाइन च्यानलबाट पनि प्रत्यक्ष प्रशारण गरिने आयोजकले जनाएको छ।
पल्सर स्पोर्ट्स अवार्डको यस संस्करणमा विभिन्न नौं विधामा प्रदान गरिनेछ। कोरोनाका कारण २०७७ सालमा खेलकुदका उल्लेख्य गतिविधि नभएकाले मञ्चले पछिल्लो एक दशक नेपाली खेलकुदमा छाएका पुरुष, महिला खेलाडी र प्रशिक्षकलाई खेलमा उनीहरूको उपलब्धिका आधारमा अवार्ड प्रदान गरिनेछ।
अवार्डका लागि पिपल्स च्वाइस विधाको भोटिङ पनि आज सकिँदैछ। यसपालि पिपल्स च्वाइसका लागि फुटबलकी एन्जिला तुम्बापो सुब्बा, टेबलटेनिसकी एलिना महर्जन, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेल प्रतिस्पर्धामा छन्। उनीहरूका लागि समर्थकले विद्युतीय भुक्तानी माध्यम ई–सेवामार्फत गरिने मतदान आज (सोमबार) राति १२ बजे सकिँदै छ।
पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइससँगै पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफ–टाइम एचिभमेन्ट, टिम अफ द इयर र अन्तर्राष्ट्रिय खेल पत्रकार सम्मानको घोषणा मंगलबारनै गरिने छ।
कार्यक्रममा सहभागी हुन एआईपीएस एसियाका महासचिव अमजद अजिज मलिक काठमाडौं आइसकेका छन्। यस वर्ष पनि वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन्। अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ।