PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

के हो हाइपरसोनिक मिसाइल? रसियाले किन यसको प्रयोग गरिरहेको छ?



पहिलोपोस्ट

के हो हाइपरसोनिक मिसाइल? रसियाले किन यसको प्रयोग गरिरहेको छ?
Photo: AFP

रसियाले युक्रेनमा आफ्नो सबैभन्दा नयाँ ‘किन्जल’ (ड्यागर) हाइपरसोनिक मिसाइल (क्षेप्यास्त्र) दुई पटक खसालेको बताएको छ। युक्रेनमा सो मिसाइल आक्रमण गरी आइतवार माइकोलाइभ नजिकैको इन्धन डिपो र शनिवार पश्चिमी क्षेत्रको भूमिगत मिसाइल तथा गोलाबारुद भण्डारण नष्ट गरेको दाबी रसियाले गरेको छ।

यो आक्रमणले युक्रेनमा युद्ध सुरु भएदेखिकै पहिलो अत्याधुनिक हतियारको प्रयोगको प्रतिनिधित्व गरेको रसियाली सरकारी समाचार एजेन्सी ‘आरआईए नोभोस्टी’ले उल्लेख गरेको छ। त्यस्तै, पश्चिमी विश्लेषकहरूले युद्धमा हाइपरसोनिक मिसाइलहरू प्रयोग गरिएको यो पहिलो पटक भएको बताएका छन्।

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले ‘मिग फाइटर जेट’बाट आक्रमण गर्न डिजाइन गरिएको ‘किन्जल’लाई एक ‘आदर्श हतियार’को रूपमा वर्णन गरेका छन्। यो आवाजको गतिभन्दा १० गुणा तीव्र गतिमा उड्न सक्छ। यसले उडानको बिचमै दिशा परिवर्तन गर्न सक्ने भएकाले यसलाई ट्र्याक गर्न र अवरोध गर्न ‘एयर-डिफेन्स’ प्रणालीहरूलाई गाह्रो हुने बताइएको छ।

पुराना मिसाइलहरू उच्च गतिमा र अन्यभन्दा बढी सही रूपमा डेलिभर गर्न पनि यो मिसाइलको प्रयोग गर्न सकिन्छ। त्यसका अलावा आणविक हतियारहरू डेलिभर गर्न पनि यसको प्रयोग गर्न सकिन्छ। चीन र अमेरिकालगायत धेरै देशहरूले यस प्रविधिमा काम गरिरहेका छन्।

रसियाली विश्लेषक भसिली कशिनले एएफपीलाई बताएअनुसार भूमिगत भण्डारणहरू नष्ट गर्न ‘किन्जल’ प्रणालीको छेड्न सक्ने र विनाशकारी ठूलो शक्ति अन्य सबसोनिक मिसाइलहरू भन्दा बढी प्रभावकारी हुन्छ। तर, अन्य विज्ञहरू यो मिसाइलले युद्धको समयमा ठूलो प्रभाव नपार्ने तर्क गर्छन्।

अर्का रसियाली विश्लेषक पावेल फेल्गेनहाउरले यो मिसाइलले युक्रेनमा ‘निश्चित मनोवैज्ञानिक र प्रोपागाण्डा प्रभाव’ बाहेक युद्ध मैदानमा निकै कम मात्रै प्रभाव पार्ने बताए। रसियाली सेनाले अन्य हतियार सकिएर यसको प्रयोग गरेको पनि हुन सक्ने उनको तर्क छ।

बेल्जियमका रक्षा रणनीति विश्लेषक जोसेफ हेनरोटिनले पनि रसियासँग इस्कन्डर जस्ता छोटो दूरीका ब्यालेस्टिक मिसाइल सकिन लागेको हुन सक्ने भन्दै ट्विट गरेका छन्।

युक्रेन सरकारले सो रसियाली आक्रमणको पुष्टि गरेको छ। तर, कुन प्रकारको मिसाइल प्रयोग गरिएको हो भनेर भन्न अझै नसकिने युक्रेन सरकारले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell