
काठमाडौं : बाढीका कारण मेलम्ची खानेपानी आयोजना क्षतिग्रस्त भएपछि काठमाडौं उपत्यकामा फेरि मेलम्चीको भाका पर सर्दै आएको छ। सरकारले चैतभित्र नै काठमाडौंमा मेलम्चीको पानी ल्याउने भने पनि त्यो अहिले नै सम्भव देखिँदैन।
उपत्यकामा जनघनत्व बढ्दै जाँदा मेलम्चीको पानीले पनि अभाव हुने देखिएको छ। उपत्यकामा पानीको हाहाकार भइरहँदा अन्य विकल्पको पनि खोजी भइरहेको छ।
यसैबिच काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी समितिका सदस्यहरुले मकवानपुरको सिस्नेरी खानेपानी आयोजनाको ड्याम निर्माण हुने स्थलको अवलोकन गरेका छन्।
सोमवार काठमाडौं उपत्यका खानेपानी बोर्डका अध्यक्ष तथा काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यसहित ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जन, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठसहितको टोली आयोजनास्थल पुगेको हो।
बोर्डका अध्यक्ष शाक्यले सिस्नेरी खानेपानी आयोजना आफैमा गौरवको आयोजना भएको बताउँदै उपत्यकाको खानेपानी समस्या समाधानको लागि आयोजनाले सकारात्मक भूमिका खेल्ने बताएका थिए। बोर्डका सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मेलम्चीको पानी छिटोभन्दा छिटो भक्तपुरमा ल्याउन पहल गर्नुपर्नेमा जोड दिएका थिए। काठमाडौं उपत्यकाका लागि मेलम्चीको विकल्पका रुपमा सिस्नेरी आयोजना नेपालकै दोस्रो ठूलो आयोजना हुने बताउँदै प्रमुख प्रजापतिले उपत्यकामा जनसंख्या वृद्धिसँगै खानेपानीको हाहाकार बढिरहेको हुँदा समयमै अन्य स्रोतहरुको पहिचान गरी कामलाई अघि बढाउनुपर्नेमा उनले जोड दिए।
ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले भने सिस्नेरी खानेपानी आयोजना निर्धारित समयमा सम्पन्न गर्न सके धेरै राहत हुने भन्दै आयोजनाको काममा कुनै ढिलासुस्ती गर्न नहुने बताएका थिए।
यस्तै, मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले उपत्यकाका मेयरहरुले निरीक्षणका क्रममा केही निष्कर्ष निकालेको बताएका छन्।
उनले उक्त आयोजनाबाट करिब १४ करोड लिटर पानी उत्पादनको दैनिक क्षमता रहेको र बर्खामा मेलम्ची बन्द हुँदा उपयोगी हुने बताएका छन्। यस्तै, आवश्यक हुँदा ईन्द्रसरोवर पनि प्रयोग गर्न सकिने र फास्ट ट्र्याकबाट पाइप राख्न सहज हुने समेत निष्कर्ष निकालिएको उनले बताए।
अवलोकनका क्रममा भ्याली बोर्डका सचिव डा. सञ्जिव विक्रम राणाले मेलम्ची खानेपानी आयोजनाको विकल्पको रुपमा सिस्नेरी खानेपानी आयोजना अगाडि बढाइएको बताएका थिए। उनले उपत्यकाको ललितपुरभित्र खानेपानी आपूर्ति गर्ने आयोजनाको मुख्य उद्देश्य रहेको बताए।
उनले सिस्नेरी खानेपानी आयोजनाको अनुमानित लागत २० अर्ब रुपैयाँ रहेको बताए। साथै आयोजनाले ६० मिटरको ड्याम निर्माण गरी करिब ७.८ अर्ब लिटर बराबरको पानी अट्ने क्षमतासहितको ड्याम बन्ने बताए।
भीमफेदी गाउँपालिका र ईन्द्रसरोबर गाउँपालिकामा अवस्थित सिस्नेरी आयोजना ५ देखि ७ वर्षसम्ममा सम्पन्न गरिसक्ने योजना रहेको सचिव राणाले बताए।