काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
सो प्रणालीको प्रभावले पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र प्रदेश नम्बर १ र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जला तथा मौसम विज्ञान विभागले जनाएको छ। अन्य भू-भागमा सामान्यतया सफा रहने भएको छ।
राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नम्बर १ को पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ। देशभर तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुनसक्ने असरबाट बच्न र पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन, चट्याङको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव छ डग्री र अधिकतम तापक्रम २९ दशमलव तीन डिग्री सेल्सियस रहेको छ। त्यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम चार दशमलव एक डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३७ डिग्री सेल्सियस रहेको छ।