PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

वाग्मती प्रदेशसभा बैठक अन्त्य गर्ने सरकारको तयारी, ३ वटा विधेयकलाई समितिमा पठाइयो



पहिलोपोस्ट

वाग्मती प्रदेशसभा बैठक अन्त्य गर्ने सरकारको तयारी, ३ वटा विधेयकलाई समितिमा पठाइयो

हेटौंडा : वाग्मती प्रदेशसभा बैठकले यसअघि सदनमा पेश भएको ३ वटा विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ।

मंगलवार बसेको बैठकले प्रदेश ऐन, प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश संचार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश अनुसन्धान ब्युरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमाथि छलफल गरी त्यसको दफावार छलफलका लागि समितिमा पठाउन स्वीकृती प्रदान गरेको हो।

उक्त विधेयक सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले बैठकमा स्वीकृतको लागि पेश गरेका थिए।

बैठकबाट सदनमा रहेका विधेयकहरुको विषय टुंग्याएर अधिवेशन अन्त्य गर्ने सरकारको तयारी रहेको बुझिएको छ। सरकारले बजेट निर्माणका लागि वर्षे अधिवेशन बोलाउन पर्ने भएकाले आज नै हिउँदे अधिवेशन अन्त्यको तयारी थालिएको कानूनमन्त्री खनालले बताए।

अधिवेशन अन्त्यका लागि आजको प्रदेशसभा बैठकपछि प्रदेशको मन्त्रिपरिषद् बैठक बस्ने तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडाले जनाएको छ। समय रहेसम्म आजै मन्त्रिपरिषद् बैठक बसेर प्रदेशसभाको अधिवेशन अन्त्य गरिने र समय अभाव रहे भोलि गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

फागुण २९ गते बसेको बैठकले दुईवटा विधेयक पारित गरेको थियो। बैठकले प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश पर्यटन विकास सम्बन्धमा बनेको विधेयक पारित भएको थियो।  

सभामुख सानुकुमार श्रेष्ठले वाग्मती प्रदेशसभाको बैठक अर्को सुचना जारी नभएसम्मको स्थगित गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell