काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली क्रान्तिमा मधेशको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको बताएका छन्। आज मधेशप्रदेशको राजधानी जनकपुरधाम पुगेका प्रचण्डले त्यहाँ आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मधेशले क्रान्तिमा पुर्याएको सहयोगलाई आफूले गहिरो ढंगले बुझेको बताएका हुन्।
‘२०७० को निर्वाचनमा मधेशले हाम्रो पार्टी र नेतृत्वलाई कसरी साथ दियो भनेर मैले गहिरो ढंगले बुझेको छु’ उनले भने।
प्रचण्डले नेकपा एमालले बिना कुनै कानुनी आधार संसद अवरुद्ध गरिएको भन्दै त्यसलाई प्रतिगमनकै निरन्तरता भएको बताए। भने, ‘जुन सेटिङमा प्रतिगामीहरुले संसद विघटन गरे त्यही सेटिङवाला अहिले पनि यसकै पक्षमा छन। यो निर्वाचनमा त्यसको भण्डाफोर गर्न पछि पर्न हुँदैन।’
उनले आउने स्थानीय तहको निर्वाचनमा भाँडभैलो गर्ने कोसिस गर्नेलाई नछोड्न मधेशी कार्यकर्तालाई निर्देशन समेत दिइए। ‘म मधेशका तमाम युवालाई अपिल गर्छु। तपाईंहरु भाँडभैलो गर्न खोज्नेलाई इँटको जवाफ पत्थरले दिनुस,’ प्रचण्डले भने।
उनले वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन अरुको लागि चुनावमात्रै भए पनि माओवादीका लागि भने जीवनमरणको विषय भएको बताए। निर्वाचनमा गठबन्धन हुने आशामा कार्यकर्तालाई ‘रिल्याकस’ गरेर नबस्न निर्देशन दिए।
‘आफ्नो खुट्टा बलियो बनाउनुस्। हामी हार्दा देश हार्छ। अरु हार्दा देश जित्छ,’ प्रचण्डले भने।
प्रचण्डले आफू प्रधानमन्त्री हुँदा दुईपटक मधेशी जनताको भावना अनुसार संशोधन प्रस्ताव दर्ता गरेको बताए। तर, एमालेले त्यसलाई असफल परेको उनको दाबी थियो।
‘तथाकथित कम्युनिस्ट भन्ने गैरकम्युनिष्टले नै मधेशी जनताको अधिकारमाथि खेलवाड गरेको छ। नागरिकता विधेयक पनि एमालेको कारण रोकिएको छ। हामीले जनतामा गएर यो भनिदिनु पर्छ। डेढ दुई महिनामा मधेशलाई क्रान्तिकारीमय, माओवादीमय बनाउनु पर्छ,’ प्रचण्डले भने।