काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्नेगरी व्यापार घाटा घटाउने किसिमका नीति तथा कार्यक्रम अघि बढाउन निर्देशन दिएका छन्।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटामार भएको उद्योग, बाणिञ्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई निर्देशन दिँदै प्रधानमन्त्रीले व्यापार घाटा घटाउनेगरी कार्यक्रम बनाउन निर्देशन दिएका हुन्।
‘हाम्रो व्यापार घाटा चिन्ताजनक अवस्थामा देखिएको छ, अब तपाईहरुले व्यापार घाटा घटाउनेगरी नीति तथा कार्यक्रम तय गरेर अघि बढ्नुहोस्’, प्रधानमन्त्रीले बैठकमा निर्देशन दिए।
प्रधानमन्त्री देउवाले अर्थतन्त्रलाई आत्मनिर्भर हुनेगरी सम्भावना भएका क्षेत्रमा लगानी बढाउनेगरी अघि बढ्न पनि निर्देशन दिए।उनले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नेगरी मन्त्रालय र सरकारका कार्यलयहरुले नीति तय गर्न पनि निर्देशन दिएका छन्।प्रधानमन्त्री देउवाले व्यापार घाटा घटाउन विद्युतको खपत बढाउनु पर्ने भन्दै विद्युतीय सवारी साधन, विद्युतीय चुलो लगायतको प्रयाग बढाउन भनेका थए।
‘हाम्रो प्रचुर सम्भावना रहेको क्षेत्र जलस्रोत हो’, प्रधानमन्त्रीले भने, ‘अब हामीले पेट्रोलियम पदार्थ खरिदमा जाने ठूलो रकम कम गर्न पनि विद्युतीय सवारी साधन प्रयोग गर्ने र विद्युतको खपत बढाउनु पर्छ ।’
उक्त समीक्षा कार्यक्रममा वाणिज्य मन्त्रालयका साथै राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालय लगायतका प्रतिनिधिहरु पनि सहभागि थिए।