काठमाडौं : जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ क्षेत्रमा बुधवार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म र बेलुकी ६ बजे देखि बिहान ६ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ। दिनमा निश्चित समय कर्फ्यू खोलेर प्रशासनले बुधवारबाट अनिश्चितकालका लागि कर्फ्यू जारी गरेको हो।
प्रशासनका अनुसार लेटाङ नगरपालिका वडा नम्बर ५ का सम्पूर्ण क्षेत्र, दक्षिणमा लेटाङ नगरपालिका वडा ३ र ४ को गंगेचोक र कमलपुर क्षेत्र, उत्तरमा लेटाङ नगरपालिकाको वडा नम्बर ६ को वडा कार्यालय क्षेत्रमा कर्फ्यू लागू हुनेछ। यस्तै, पूर्वमा मोरङे खोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्रमा समेत कर्फ्यू लागू हुनेछ।
लेटाङ नगरपालिका ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेलले चैत ४ गते कक्षा ७ मा अध्ययनरत् एक बालिकालाई यौन दूर्व्यवहार भएको खबर बाहिरिएको थियो। त्यसपछि चैत ६ गते विद्यार्थी, अभिभावक र स्थानीय शिक्षक पौडेलप्रति आक्रोशित बनेका थिए। त्यही क्रममा आइतवार उनीहरुले विद्यालय घेरा हालेर शिक्षक र जनप्रतिनिधिलाई बन्धन बनाएका थिए। त्यसपछि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो।
आरोपीलाई प्रहरीले बचाउन खोजेको भन्दै भिडले प्रहरीमाथि आक्रमण गरेको थियो। प्रहरीले दोषीमाथि कानूनी कारवाही हुने भनेर बताए पनि अनियन्त्रित भिडले तोडफोड, आगजनी र ढुंगामुढा गरेको प्रशासनले जनाएको छ। त्यसक्रममा भिडबाट भएको आक्रमणबाट विराटनगरस्थित रानी गणमा कार्यरत प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो।
त्यसपछि प्रशासनले उक्त प्रकृतिको घटना फेरि दोहोरिन नदिन र जनधनको क्षति हुनबाट रोक्न चैत ६ गते कर्फ्यू आदेश जारी गरेको थियो। त्यही आदेशलाई प्रशासनले निश्चित समय कर्फ्यू खुल्ने गरि बुधवारबाट अनिश्चितकालका लागि लागू गरेको हो।
आज जिल्ला प्रशासन कार्यालय, प्रहरी र जनप्रतिनिधिको टोलीले घटनास्थलको निरीक्षण गरेका थिए। आजै यस विषयमा सर्वदलीय बैठक समेत बसेको थियो। बैठकले निरन्तरको कर्फ्यूलाई केही सहज पार्न प्रशासनलाई आग्रह गरेको थियो। प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले दोषीमाथि कारवाही गर्ने आश्वासन दिइसकेका छन्।
मोरङ प्रशासनको आदेश