PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

पल शाहको बयान : उनी १८ वर्षभन्दा कम उमेर हुन् भन्ने थाहा थियो, घटना लुकाउन म्यानेजरको तलब दोब्बर



पहिलोपोस्ट

पल शाहको बयान : उनी १८ वर्षभन्दा कम उमेर हुन् भन्ने थाहा थियो, घटना लुकाउन म्यानेजरको तलब दोब्बर

काठमाडौं : अभिनेता पल शाहले सम्बन्ध राखेको भनिएकी किशोरीको उमेर थाहा भएको बयान दिएका छन्।

'छलफल गर्ने क्रममा पीडित पक्षले मलाई पीडितलाई तिमीले विवाह गर्नुपर्छ भनेकाले मैले पीडितको उमेर पुगेपछि विवाह गरौंला, अहिले केटीको उमेर पुगेको छैन भनेको थिएँ,' शाहले बयानमा भनेका छन्, 'पीडित १८ वर्ष भन्दा कम उमेर नाबालिका हुन् भन्ने कुरा मलाई पूर्णरूपमा जानकारी थियो।'

शाह विरुद्ध जिल्ला अदालत तनहुँमा आज मुद्दा दर्ता भएको छ। उनले एक बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेको थियो। जिल्ला प्रहरी कार्यालय तनहुँले शाहविरुद्धको अनुसन्धान सकाएर आज अदालतमा मुद्दा दर्ता गरेको हो। सरकारी वकिल कार्यालयले अदालतमा दर्ता गराएको अभियोगपत्रमा शाहलाई नावालिकाको उमेर थाहा भएको उल्लेख छ। 

नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरका किशोरीसँग सहमतिमा पनि यौनसम्बन्ध राख्न‍ निषेध गरेको छ। जसको कारण शाहविरुद्ध अहिले अदालतमा मुद्दा अघि बढेको छ। शाहले किशोरीले दावी गरेजस्तो जबर्जस्ती करणी गरेको भने स्वीकारेका छैनन्।

'गत वैशाख १४ गते गते साँझ तनहुँ दुलेगौंडास्थित प्रदीप थापाको घरमा बास बसेका थिएँ। राती अबेरसम्म बियर खाँदै पीडित र मैले म्यासेज आदान प्रदान गर्दै ११ बजेर ४५ बजेतिर हामीले खाई बाँकी रहेको बोतलको बियर लिएर किशोरी सुतेको कोठामा गई ढोका धकेली भित्र पसी बियर खान दिइ, फेसवास लिएर म आफ्नो कोठामा गएर सुतेको थिएँ,' शाहको बयानमा उल्लेख छ, '२०७८ सालको जेष्ठ महिनाको अन्तिमतिर मलाई फोन गरी तपाईँ र मेरो सम्बन्ध अरुले थाहा पाए, मलाई गाह्रो भयो, मेरो महिनावारी रोकियो। तपाईँले मलाई स्वीकार्नुपर्छ भन्ने समेतको शब्दहरु म्यासेजमा मलाई प्रेसित गरेकी थिइन।' 

पल शाहलाई १२ वर्षदेखि १४ वर्षसम्म कैद सजाय माग दाबीसहित अभियोगपत्र दायर भएको सरकारी वकिल कार्यालयले जनाएको छ। क्षतिपूर्ति भने उमेर हेरेर माग दावी गरिने जनाइएको छ। यस्तै, शाहका म्यानेजर कृष्ण जोशीलाई भने पललाई मागिएको सजायको आधा सजाय माग गरिएको छ।

यसअघि शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा जबर्जस्ती करणीसम्बन्धी मुद्दा दायर भएको थियो। नवलपुरमा पनि १२ वर्षदेखि १४ वर्षसम्म कैद सजाय र ४ लाख रुपैयाँ क्षतिपूर्ति माग दाबीसहित अभियोगपत्र दायर भएको थियो। १८ वर्ष नपुगेकी बालिकालाई प्रेम जालमा पारेर करणी गरेको अभियोगपत्रमा उल्लेख थियो।

म्यानेजर पनि मतियारको भूमिका

पल शाह प्रकरणमा उनका म्यानेजर कृष्णप्रसाद जोशी पनि घटना लुकाउने भूमिकामा देखिएका छन्। उनीविरुद्ध पनि शाहको आधा सजाय माग गर्दै मंगलवार अदालतमा मुद्दा दर्ता भएको छ। घटना बाहिर नआउनका लागि पल शाहले जोशीको तलब दोब्बर गरिदिएको बयान दिएका छन्। सुरुमा मासिक २५ हजार रुपैयाँको तलब पाउने उनलाई घटना लुकाउन भन्दै ५० हजार रुपैयाँ तलव पुर्‍याएका थिए।

'शाह र पीडित नाबालिकाको सम्बन्ध बाहिरिँदै मिडियाहरुमा आएपछि शाहले सम्पर्क गरी अब तिमीले मलाई सहयोग गर्नु पर्‍यो भन्दै मलाई मासिक तलबमा वृद्धि गरी दोब्बर पचास हजार रूपैयाँ तलब समेत दिई पुन: म्यानेजरको जिम्मेवारी दिएकाले...,' जोशीले बयानमा भनेका छन्, 'मैले पीडित नाबालिकालाई तिमीहरु एउटै क्षेत्रमा काम गर्ने हुँदा मिलेर जाउ, भविष्य राम्रो हुन्छ भन्दा पीडित पक्षले प्रहरीमा उजुरी गर्छु भनेकाले मैले दुर्गा अधिकारीलाई पीडित नाबालिका के गर्छिन्, कसो गर्छिन् हामीलाई खबर गर तिमीलाई मैले गीत संगीतमा सहयोग गर्छु भनेको थिएँ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell