बुटवलः बुटवलमा आधुनिक सुविधासहितको व्यवस्थित खुलामञ्च निर्माणको काम सुरु भएको छ। बुटवल उपमहानगरपालिकाले वडा नम्बर ११ देवीनगरमा रहेको करिब १४ बिघा जग्गालाई संरक्षण गर्दै खुलामञ्च बनाउन लागेको हो।
खुलामञ्चको मंगलबार उपमहानगर प्रमुख शिवराज सुवेदीले शिलान्यास गरेका छन्। त्यसक्रममा उनले सार्वजनिक जग्गाको संरक्षण गर्दै त्यसको बहुउपयोग गर्नेगरि गुरुयोजना बनाएर दिगो विकासका काम अगाडि बढाइएको बताए।
खुलामञ्च बन्ने क्षेत्रलाई समेटेर गुरुयोजना तयार पारी निर्माण कार्य अगाडि बढाइएको छ। गुरुयोजनामा प्राविधिक तथा विषय विज्ञहरुबाट सुझावसमेत लिएर निर्माण कम्पनीलाई कार्यादेश दिइएको उपमहानगर प्रमुख सुवेदीले जानकारी दिए।
जनघनत्व, सवारी चाप र बाक्लो बस्तीका बीचमा रहेको खुला जग्गालाई संरक्षण पनि हुने र बहुउपयोग पनि हुनेगरि गुरुयोजना तयार पारिएको प्रमुख सुवेदीले बताए।
बुटवल खुलामञ्चलाई कार्यक्रम गर्न, सभा समारोह गर्न, सम्मेलन गर्न मात्र नभई विभिन्न आपत्कालीन अवस्थाको उद्दारस्थल रुपमा समेत उपयोग गर्न सकिने गरी गुरुयोजनामा समेटिएको छ। उपमहानगरले यसलाई बहुवर्षे योजनाका रुपमा अगाडि बढाएको छ।
बुटवलको दीर्घकालीन गुरुयोजनामा परिकल्पना गरिए अनुरुपको यो एउटा खुलामञ्च हो। सुरुमै जग्गा संरक्षण, तारबार र व्यवस्थित बाउण्ड्री निर्माणको काम अगाडि बढाइने र बाँकी कामलाई चरणवद्ध रुपमा अगाडि बढाइने प्रमुख सुवेदीले जानकारी दिए।
खुलामञ्चमा सार्वजनिक कार्यक्रम गर्न, सभा समारोह गर्न, सम्मेलन गर्न मात्र नभई विभिन्न आपतकालीन अवस्थाको उद्दारस्थल रुपमा समेत उपयोग गर्न सकिने गरी गुरुयोजनामा समेटिएको उपमहानगरका अनुगमन समितिकी संयोजकसमेत रहेकी उपप्रमुख गुमादेवी आचार्यले बताइन्।
बुटवल खुलामञ्च निर्माणका लागि शिवशक्ति कन्स्ट्रक्सन कम्पनी प्रालिले ५ करोड ३२ लाख ३९ हजार ५१३ रुपैयाँ बराबरमा ठेक्का सम्झौता गरेको उपमहानगरका सहरी विकास तथा योजना महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिए। उपमहानगरले भने खुलामञ्च निर्माणका लागि ५ करोड ५१ लाख ८८ हजार रुपैयाँ लागत अनुमान गरेको थियो।
गत फागुन २६ गते कार्यादेश पाएको निर्माण कम्पनीलाई आगामी २०८० को जेठ १५ सम्ममा काम सक्ने सम्झौता भएको छ।
यस्तो बन्ने छ खुलामञ्च
करिब १४ बिघा क्षेत्रफलमा खुलामञ्च बन्ने र त्यहाँ एक लाख जना एकैपटक जम्मा हुन मिल्नेगरि खुला मैदान बनाइने छ। मैदानलाई विशेष तारजाली र हरियालीले सजाइने छ। मैदान प्रवेश र निकासका अलग अलगद्वार र आपतकालीन द्वार बन्नेछन्। तारजाली पनि पर्यावरणमैत्री र विशेष हुनेछ। खुलामञ्चसम्म पुग्न धेरैतिरबाट पहुँच मार्ग बन्नेछन्। बुटवल चक्रपथले समेत खुलामञ्चलाई जोड्नेछ।
एकै पटक करिब ८ सय जनाले प्रयोग गर्न मिल्नेगरी सार्वजनिक शौचालय बनाइने छन्। आठ लाख ९३ हजार नौ सय ७७ वर्ग मिटर क्षेत्रफलमा खुलामञ्च र बाँकी क्षेत्रमा विशेष मञ्च, मञ्चसँगै पछाडि भागामा आठ वटा अलगअलग प्रयोजनका कोठा, तीन तहका पार्किङ, प्राथमिक उपचार कक्ष बन्नेछन्।
खुलामञ्चको दक्षिणमा तिनाउ कोरिडोर रहनेछ। करिडोर र खुलामञ्चको बीचको भागमा हरियालीसहितको गार्डेन, फुटपाथ रहनेछ। खानेपानीका फिल्टरयुक्त ट्याङ्कीसमेत विभिन्न ठाउँमा राखिनेछ। एक लाखभन्दा धेरै जना अट्न सक्नेगरी खुला क्षेत्रको चौर रहनेछ भने त्यतिको संख्यामा आउने मानिसहरुले प्रयोग गर्ने सवारी साधनलाई समेत तीन तहमा पार्किङ र आवागमनका विशेष रुट बनाइने भएको छ।
भीआइपीले प्रयोग गर्ने सवारीसहित एक सय ६० वटा चार पाङ्ग्रे र करिब छ सय जति दुई पाङ्ग्रे साना सवारीलाई पार्किङ गर्न मिल्नेछ। पब्लिक बस तथा सवारीहरुलाई पनि खुलामञ्चको दुवैतिरबाट आवागमन मिल्नेगरी रुटको व्यवस्था मिलाइने भएको छ। खुलामञ्चको पहिलो चरणको कामका लागि निर्माण लागत करिब एक करोड अनुमान गरिएको छ। गुरुयोजना अनुसारका सबै कामका लागि करिब २७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ भने तीन वर्षसम्ममा सबै चरणका निर्माण काम सक्ने लक्ष्य छ।