PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

प्रमाणले घेरिएका पलः उनैले सार्वजनिक गरेको अडिओलाई प्रहरीले बनायो अचुक अस्त्र



सविन ढकाल

प्रमाणले घेरिएका पलः उनैले सार्वजनिक गरेको अडिओलाई प्रहरीले बनायो अचुक अस्त्र

काठमाडौँः अभिनेता पूर्णविक्रम शाह (पल) लाई २१ दिन हिरासतमा राखेर अनुसन्धान गरेपछि सोमबार जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझायो। प्रहरीको रायसहितको अनुसन्धान पढेपछि सरकारी वकिल कार्यालयले मंगलबार जिल्ला अदालतमा तनहुँमा मुद्दा दर्ता गरेको छ।

दाङ घर भएका ३२ वर्षीय शाह र उनका म्यानेजर कृष्णप्रसाद जोशीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ। उनीहरूविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ बमोजिम मुद्दा दर्ता भएको छ। अभिनेता शाहले १५ वर्ष ९ महिना ११ दिनकी किशोरीलाई प्रेम जालमा पारेर जबर्जस्ती करणी गरेको अदालतमा दर्ता भएको १६ पेजको अभियोग पत्रमा उल्लेख छ।

फागुन ११ गते किशोरीका बुबाले जिल्ला प्रहरी कार्यालय तनहुँमा आफ्नी छोरीलाई पटकपटक करणी गरेको भन्दै जाहेरी दर्ता गराएका थिए। जाहेरी परेपछि फागुन १५ गते पल प्रहरीसमक्ष पुगेका थिए। त्यसपछि अनुसन्धान सुरु भएको थियो।

प्रमाणले घेरिएका पल

प्रहरीले जबर्जस्ती करणी प्रमाणित गर्न परिस्थितिजन्य प्रमाणलाई मुख्य आधार बनाएको देखिन्छ। त्यसो त अदालतमा बुझाएको अभियोग पत्रसँगै पीडित किशोरीको शारीरिक परीक्षण प्रतिवेदन समेत पेस गरिएको छ।

प्रहरीले परिस्थितजन्य प्रमाणलाई नै बलियो बनाएर लगेको छ। जसमा पल शाहले सामाजिक सञ्जालमा पोस्ट गरेको अडिओ र घटनापछि पीडित किशोरीसँग गरेको कुराकानीको अडिओलाई मुख्य प्रमाण बनाइएको छ। जुन अडिओ शाहले नै सामाजिक सञ्जालमा अपलोड समेत गरेका थिए। जहाँ शाहले गलफ्रेन्ड व्बाइफ्रेन्डबीच यस्तो हुनु नर्मल हो भनेर घटनलाई आफैँ पुष्टि गरेका थिए। जुन अडिओ अदालतमा पेस भएको छ। अडिओको सन्दर्भमा शाहले स्वर आफ्नै भएको स्वीकार समेत गरेका छन्।

प्रहरीले घटना भएको स्थान र सम्बन्धित व्यक्तिहरूसँग बयान समेत लिएको छ। उजुरीमा दिएझैँ शाह घटना भएको भनिएको समयमा उपस्थित भएको देखिएको छ। २०७८ वैशाख १४ गते तनहुँको दुलेगैँडास्थित प्रदीप थापाको घरमा बास बसेका थिए। जहाँ पीडित किशोरी पनि बसेकी थिइन्। घरधनी थापाले भने बास बसेको बताएका छन्। घटनास्थल, घटना मिति, घटनासम्बन्धी व्यक्तिको उपस्थिति देखिनुले परिस्थितिजन्य प्रमाणलाई बलियो बनाएको देखिएको छ।

त्यस्तै रातिको समयमा शाहले किशोरीको मोबाइलमा म्यासेज गरेर कोठामा गएको शाहले बयानमा स्वीकार गरेका छन्।

राति अबेरसम्म बियर खाँदै पीडित र मैले म्यासेज आदान प्रदान गर्दै ११:४५ बजेतिर हामीले खाई बाँकी रहेको बोतलको बियर लिएर किशोरी सुतेको कोठामा गई ढोका धकेली भित्र पसी बियर खान दिइ, फेसवास लिएर म आफ्नो कोठामा गएर सुतेको थिएँ,' शाहको बयानमा उल्लेख छ।

उनले जबर्जस्ती करणी भने अस्वीकार गरेका छन्। तर पीडित बालिकाले यही समयमा आफूलाई विवाह गर्ने आश्वासन देखाएर करकापमा करणी गरेको बयान दिएकी थिइन्। सोही दिन थापाको घरमा अन्य मानिससँग पनि प्रहरीले बयान लिएको छ। त्यो रात थापाको घरमा किशोरीसहित चार जना सुतेका थिए।

प्रहरीले उनीहरू सुतेको खाटको मुचुल्का समेत उठाएको छ। त्योसँगै विभिन्न व्यकिसँग लिएको बयान, किशोरीको उमेर खुल्ने कागजपत्र, मोबाइलको सिडिआरदेखि विभिन्न ११७ वटा कागजपत्र पेस गरिएको छ।

म्यानेजरको बयान अर्को प्रमाण

पल प्रकरणमा उनका म्यानेजर कृष्णप्रसाद जोशी पनि घटना लुकाउने भूमिकामा देखिएका छन्। उनीविरुद्ध पनि शाहको आधा सजाय माग गर्दै मंगलबार अदालतमा मुद्दा दर्ता गरेको छ। शाहलाई खोजी गर्दै गर्दा सामाजिक सञ्जालमा जथाभाबी बोल्न थालेपछि उनी पनि प्रहरीको अनुसन्धानमा तानिएका थिए। त्यसो त जोशीविरुद पनि जाहेरी परेको थियो। म्यानेजर जोशीले घटना लुकाउने काम गरेको देखिन्छ।

घटना लुकाउन किशोरीलाई फकाउनेदेखि दुर्गा अधिकारी भन्नेलाई किशोरीको 'रेक्की' गर्न समेत प्रलोभनमा पार्ने गरेको देखिएको छ। पीडित भनिएकी किशोरीको रेक्की गरेबापत शाहले ५० लाख रुपैयाँ दिने भन्दै जोशीले अधिकारीलाई प्रलोभनमा पारेको अभियोग पत्रमा उल्लेख गरिएको छ।

अधिकारीले बयानमा भनेकी छिन्,' कृष्ण जोशीले मलाई तिमीले ऊ कहाँ जान्छे, कोसँग के कस्तो कुरा गर्छे। त्यसको बारेमा नराम्रो खबर बुझेर हामीलाई खबर देऊ तिमीलाई ५० लाख रुपैयाँसम्म पलबाट दिलाइदिन्छु। म्युजिक भिडिओ खेल्ने अवसर दिलाइदिन्छु भनी आश्वासन दिएका थिए,' दुर्गाले भनेकी छिन्।

दुर्गा गत साउनमा २१ दिनसम्म किशोरीसँग बसेकी थिइन्। त्यो समय पनि पीडित किशोरीले आफूलाई पलले करणी गरेको सुनाएको अभियोग पत्रमा उल्लेख छ। अधिकारीले बयानलाई पलका म्यानेजरले समेत सकारेका छन्।

यसले अर्को प्रश्न तेर्साएको छ। गल्ती नै नभको भए यतिका पैसा किन अफर गरे?

घटना बाहिर नआउनका लागि पलले जोशीको तलब दोब्बर गरिदिएको बयान दिएका छन्। सुरुमा मासिक २५ हजार रुपैयाँको तलब पाउने उनलाई घटना लुकाउन भन्दै ५० हजार रुपैयाँ तलब पुर्‍याएका थिए।

'शाह र पीडित नाबालिकाको सम्बन्ध बाहिरिँदै मिडियाहरूमा आएपछि शाहले सम्पर्क गरी अब तिमीले मलाई सहयोग गर्नुपर्‍यो भन्दै मलाई मासिक तलबमा वृद्धि गरी दोब्बर पचास हजार रुपैयाँ तलब समेत दिई पुनः म्यानेजरको जिम्मेवारी दिएकाले...,' जोशीले बयानमा भनेका छन्, 'मैले पीडित नाबालिकालाई तिमीहरू एउटै क्षेत्रमा काम गर्ने हुँदा मिलेर जाऊ, भविष्य राम्रो हुन्छ भन्दा पीडित पक्षले प्रहरीमा उजुरी गर्छु भनेकाले मैले दुर्गा अधिकारीलाई पीडित नाबालिका के गर्छिन्, कसो गर्छिन् हामीलाई खबर गर तिमीलाई मैले गीत संगीतमा सहयोग गर्छु भनेको थिएँ।'

म्यानेजर जोशीले किशोरी र पलबीच प्रेम सम्बन्ध रहेको आफूलाई थाहा भएको समेत बताएका छन्। तर शाहले म्यानेजरलाई गत साउनतिर जागिरबाट हटाएका थिए। पल शाह र किशोरीबीच सम्बन्ध बाहिर आएपछि पुनः म्यानेजरलाई दोब्बर तलब दिएर ल्याएका थिए। त्यसपछि उनी पनि घटना मिलाउन लागेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell